logo-img

प्रधानमन्त्री कप : कर्णालीसँग एपिएफको हार, पुलिसको आठौँ जित

विभागीय टोली एपिएफले बुधबार कर्णाली प्रदेशसँग अप्रत्याशित हार व्यहोर्दै जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा यात्रा टुंग्याएको छ ।

शीर्ष दुईको दाबेदार एपिएफ कीर्तिपुरमा कर्णालीसँग २१ रनले पराजित भएको हो । यसअघि नै नेपाल पुलिस क्लब सात खेलमा अपराजित रहँदै फाइनल पुगिसकेको छ । पुलिसले बुधबार लुम्बिनीलाई हराउँदै आठौँ जित निकाल्यो । 

लिगको अन्तिम खेलमा एपिएफ कर्णालीविरुद्ध जित निकाल्दै शीर्ष दुईको सम्भावना जीवन्त राख्न चाहन्थ्यो । तर, आसिफ शेखको शतकका बाबजुद एपिएफ पराजित भयो । आर्मीले अन्तिम खेलमा गण्डकीलाई हराउँदा फाइनलको यात्रा तय गर्नेछ । हारले भने आर्मीको फाइनल यात्राका लागि नेट रनरेटमा भर पर्नुपर्नेछ ।



जितसँगै कर्णालीले नौ खेलबाट आठ अंक जोड्दा एपिएफको समान खेलबाट १० अंक रह्यो । त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको दुई सय ७ रनको लक्ष्य पछ्याएको एपिएफ ४४ ओभरमा एक सय ८५ रनमा समेटियो । एपिएफका लागि आसिफ र अमर रौटेलाबाहेक अन्य ब्याटर चल्न सकेनन् । ओपनर आसिफले १०८ रनको शतकीय इनिङ खेले । उनले ११२ बलमा १० चौका र दुई छक्का प्रहार गरे । अमरसिंह रौटेला २८ रनमा अविजित रहँदा कप्तान रोहितकुमार पौडेलले १४ रन र लोकेश बमले ११ रन बनाए ।

आसिफले सातौँ विकेटका लागि अमरसँग ८७ रनको साझेदारी गर्दै इनिङ उकास्ने प्रयास गरे । कर्णालीको बलिङमा प्रकाश जैसीले तीन ओभरमा दुई मेडन राख्दै ९ रन मात्र खर्चिएर चार विकेट लिए । दीपेन्द्र रावत र युनिस सिंहले समान दुई तथा दिनेश अधिकारीले एक विकेट निकाले । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले ४४.१ ओभरमा दुई सय ६ रनको योगफलमा नै अलआउट भयो । कर्णालीका लागि हिमान्शु शाहीले सर्वाधिक ६२ रन र अर्जुन घर्तीले ५३ रनको योगदान दिए ।

हिमान्शुले ५० बलमा सात चौका र दुई छक्का हिर्काए । अर्जुनले तीन छक्का र एक चौका प्रहार गरे । दीपेन्द्र रावतले २७ रन, कप्तान रवीन्द्र शाहीले २२, दिनेश अधिकारीले १९ र प्रकाश जैसीले १० रन बनाए । हिमान्शु र अर्जुनले चौथो विकेटका लागि एक सय ११ रनको साझेदारी गर्दै कर्णालीलाई सम्मानजनक योगफलतर्पm अग्रसर गराए । एपिएफको बलिङमा श्याम ढकालले ९ ओभरमा दुई मेडन राख्दै ३२ रन खर्चिएर तीन विकेट लिए । अमरसिंह रौटेलाले दुई तथा भुवन कार्की र रमेश कुर्मीले समान एक विकेट लिए ।



त्यस्तै, नेपाल पुलिस क्लबले बुधबार लुम्बिनी प्रदेशलाई १०३ रनले हराउँदै प्रतियोगिता आठौँ जित निकालेको छ ।

यससँगै पुलिस आठौँ खेलसम्म अपराजित रह्यो । पुलिसले लिगको अन्तिम खेल सुदूरपश्चिमविरुद्ध खेल्नेछ । मूलपानी क्रिकेट मैदानमा पुलिसले दिएको दुई सय ४६ रनको लक्ष्य पछ्याएको लुम्बिनी ३६.३ ओभरमा एक सय ४२ रनमै अलआउट भयो । 



मध्य क्रमका ब्याटर दिलसाद अलीको ३६ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । नर सार्कीले ३१ रन जोड्दा अन्य ब्याटर सस्तैमा आउट भए । पुलिसको बलिङमा कुशल भुर्तेलले तीन तथा करण केसीले दुई विकेट लिए । ललितनारायण राजवंशी, सागर ढकाल, रासिद खान, आरिफ सेख र रोशन बुढालले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ३७.३ ओभरमा दुई सय ४५ रनमा अलआउट भयो । पुलिसका लागि आरिफ सेख ७६ रन र करण केसीले ५७ रनको अर्धशतकीय पारी खेले । आरिफले ७६ बलमा ९ चौका र तीन छक्का तथा करणले २७ बलमा समान पाँच चौका र छक्का प्रहार गरे । 

कुशल भुर्तेलले ४८ रन  अर्जुन साउदले २४ रनको योगदान दिए । लुम्बिनीको बलिङमा नर सार्कीले चार तथा वीर मगरले तीन विकेट लिए । कृष्ण कार्की र अभिषेक गौतमले समान एक विकेट लिए ।

  • प्रकाशित मिति : माघ १७, २०८० बुधबार २१:२८:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया