सोलुखुम्बुको थुलुङ दूधकोशीमा उत्पादित कफी विश्वमा नै उत्कृष्ट

सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले कफीको न्यूनतम् समर्थन मूल्य निर्धारण गरेको छ । कफी प्रशोधन गरी अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यका साथ गाउँपालिकाले बुधबार कफीको न्यूनतम समर्थन मूल्य तोकेको हो ।   

कफी कृषक तथा अन्य सरोकारवालासँगको अन्तरक्रियापछि वैज्ञानिक ढङ्गबाट मूल्य निर्धारण गरिएको गाउँपालिकाका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए । उनका अनुसार राष्ट्रिय चिया तथा कफी विकास बोर्डले निर्धारण गरेको न्यूनतम् समर्थन मूल्यसमेतलाई आधार मानी ‘ए’ ग्रेडको ‘पार्चमेन्ट’ कफीको न्यूनतम् समर्थन मूल्य प्रतिकिलो ६ सय रुपैयाँ निर्धारण गरिएको छ ।

 बोर्डले भने सोही कफीको मूल्यप्रति केजी ५ सय रुपैयाँ निर्धारण गरेको छ । गत मङ्सिर १ गतेदेखि लागू हुनेगरी न्यूनतम् समर्थन मूल्य निर्धारण गरी बोर्डले सार्वजनिक सूचना नै जारी गरेको छ । बोर्डको समर्थन मूल्यभन्दा प्रतिकिलो १ सय रुपैयाँ बढी निर्धारण गरिएको गाउँपालिका अध्यक्ष असिम राईले बताए । 

थुलुङ दूधकोशीमा उत्पादित कफी विश्वमा नै उत्कृष्ट

थुलुङ दूधकोशीमा उत्पादन भएको कफी विश्वमा नै उत्कृष्ट रहेको अध्ययनले जनाएको छ । इको हिमाल नेपालकै पहलमा यहाँ उत्पादित कफी बेलायत र अस्ट्रेलिया लगायतका राष्ट्रमा नमुना परीक्षणका लागि पठाउँदा उत्कृष्ट प्रमाणित भएको इको हिमाल नेपालका कार्यकारी प्रमुख नारायण ढकालले बताए । 
 
नमुना परीक्षणका क्रममा कफीको नतिजा उत्कृष्ट पाएपछि  कृषकलाई थप हौसला बढेको कार्यकारी प्रमुख ढकालको भनाइ छ । केही वर्षअघि बारीमा लगाइएको कफीको बोट नष्ट गर्न थालेका कृषकले पुनःनयाँ बिरुवा लगाउन थालेका स्थानीयवासी कृषक नेतकुमार राईले बताए । 

आफूले केही बोट कफी नष्टको अनुभव सुनाउँदै उनले स्थानीय सरकारले बजारीकरणको जिम्मा लिएपछि सहज हुने र ढुक्कसँग खेती गर्ने वातावरण सिर्जना भएको सुनाए । 
    
थुलुङ दूधकोशीले पालिकामा नै कफी प्रशोधन गर्ने भएपछि यहाँका कृषक खुसी भएका छन् । गाउँपालिका प्रवक्ता कार्कीका अनुसार अहिले कफी प्रशोधन गर्ने मेसिन खरिदलगायत अन्य संरचना निर्माणको तयारी तीव्र पारिएको छ । करिब ७० लाख रुपैयाँको लागतमा उक्त परियोजनाको कार्य भइरहेको उनको भनाइ छ । 



उपकरण खरिदमा गाउँपालिका र द ग्लासियर ट्रस्ट बेलायतको लगानी हुनेछ भने अन्य तालिमलगायतमा इको हिमाल नेपालको भूमिका रहने बताइएको छ । यसरी आफ्नै पालिकामा कफी प्रशोधन हुने भएपछि स्थानीयवासी कृषक हर्षित भएका छन् । यसअघि आफूले उत्पादन गरेको कफीले बजार पाउने निश्चित नहुँदा खेतीतर्फ आकर्षण नभएको जनाउँदै देउसाका अगुवा कृषक युवराज राईले थुलुङ दूधकोशीले कृषितर्फ चालेको कदमले उत्साह पैदा भएको बताए ।

कृषिमा राम्रो सम्भावना भए पनि सरकारको ध्यानदृष्टि नपुगेका कारण विदेश पलायन हुनेदर बढिरहेका बेला स्थानीय सरकारको एकपछि अर्को कदमले गर्दा आफूलाई जापान जाने अवसर प्राप्त हुँदा बेवास्ता गरेको उनले सुनाए । अध्यक्ष राईले राम्रो कफी उत्पादन गर्ने कृषकलाई पुरस्कार दिने बताए । रासस 



  • प्रकाशित मिति : माघ १८, २०८० बिहीबार ७:४७:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया