१९ वर्षअघिको त्यो माघ १९
सिंहदरबार कब्जा हान्दा नारायणहिटी गुमाएका राजा ज्ञानेन्द्र [भिडियोसहित]
वर्ष २०१७ को ‘कू’ को इतिहास ४४ वर्षपछि फेरि दोहरिएको त्यो दिन

धेरैको स्मृतिमा ताजै होला– आजभन्दा १९ वर्षअघि माघ १९ को त्यो चिसो बिहान । वर्ष– २०६१ ।  त्यति बेला नेपालको नारायणहिटी राजदरबारमा राजा हुने गर्थे । नाम थियो– ज्ञानेन्द्र वीर विक्रम शाहदेव ।  

२०५८ जेठ १९ मा भएको राजदरबार हत्याकाण्डमा राजा वीरेन्द्रसहित सम्पूर्ण परिवारको हत्या भयो । तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाह अपुतालीमा राजा भए । नेपालको संविधान २०४७ अनुसार उनी यो देशको संवैधानिक राजा थिए । तर, उनलाई यत्तिमै चित्त बुझेन । त्यसैले त सार्वजनिक रूपमै भन्न भ्याए, ‘म दाइ वीरेन्द्र जस्तो टुलुटुलु हेरेर बस्ने राजा होइन ।’  

नभन्दै उनले आफू राजा भएको १५ महिनामै अर्थात् २०५९ असोज १८ गते संसद् विघटन गरेर शेरबहादुर देउवा नेतृत्वको जननिर्वाचित सरकार बर्खास्त गरे । ‘स्वच्छ छवि भएको प्रधानमन्त्री’ को दर्खास्त आह्वान गरेका उनले त्यसको एक सातापछि पञ्चायतका विश्वासपात्र लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा असोज २५ गते नयाँ सरकार गठन गरे । चन्दलाई ६ महिना र फेरि अर्का विश्वासपात्र सूर्यबहादुर थापालाई ६ महिना प्रधानमन्त्री बनाएपछि ज्ञानेन्द्रले आफैँले अक्षम घोषणा गरेका शेरबहादुर देउवाको नेतृत्वमा पुनः नयाँ सरकार बनाए । 

‘गोर्खाली राजाले न्याय दिए’ भन्दै देउवा प्रधानमन्त्रीमा गए । एमाले पनि झनै के कम थियो र ! ‘प्रतिगमन आधा सच्चियो’ भन्दै देउवा सरकारमा सामेल हुन पुग्यो । तर, ६ महिना नपुग्दै प्रतिगमन पुनः फर्कियो । देउवालाई दोस्रो पटक बर्खास्त गर्दै सिंहदरबारको शासन सत्ता ज्ञानेन्द्रले आफ्नै हातमा लिए । हो, त्यही दिन थियो,२०६१ माघ १९ । 

यसै दिन उनले राजनीतिक आवरणमा सैन्य कु गरे । सेनाको आड लिएर प्रजातन्त्रका सबैजसो धमनीमाथि एकसाथ प्रहार गरे । संवैधानिक होइन, सक्रिय राजा हुन रुचि देखाए । राजनीतिक दलका नेतामाथि धरपकडदेखि सञ्चार गृहमा सेनालाई समाचार सम्पादनको जिम्मा लगाए । त्यति बेला के गरेनन्, ज्ञानेन्द्रले ? देउवा नेतृत्वको सरकारलाई बर्खास्त गरेर निरङ्कुश शासन अभ्यासको सुरुआत गरेको दिन थियो, त्यो । 

तर, माघ १९ मा हैन, त्यसको दुई महिनाअघि अर्थात् मंसिर १८ मा नै सैन्य कु गरेर शासनको बागडोर आफ्नो हातमा लिने तयारीमा थिए,ज्ञानेन्द्र । यसको सूचना त्यस बेलाका प्रमुख नेता तथा मन्त्रीहरूले पाइसकेका थिए । तर, अनौठो कुरा के थियो भने प्रधानमन्त्री शेरबहादुर देउवा ज्ञानेन्द्रको महत्त्वाकाङ्क्षाबाट पूरै बेखबर थिए । 



उता, राजा ज्ञानेन्द्र आफ्नै बुवा महेन्द्रको शैलीमा कु गर्ने तयारीमा दरबारका खोपीहरूमा कानेखुसी गर्दै थिए । यता, देउवाले भने ज्ञानेन्द्रको रोजाइमा मन्त्री भएका मोहम्मद मोहसिनलाई प्रवक्ता मात्र बनाएका थिएनन्, संयुक्त सरकारमा रहेका अरू दलका मन्त्रीहरूको उपेक्षा गर्दै मोहसिनलाई महत्त्व दिएर उनकै परामर्शमा क्याबिनेट बैठक चलाउन थालेका थिए । 



देउवा दरबारसँग कतिसम्म लहसिएका थिए भने हेटौँडामा राजा ज्ञानेन्द्रलाई नागरिक अभिनन्दन गराउने प्रयाससमेत उनले गरेका थिए । यो बेग्लै कुरा हो कि केही मन्त्रीहरूको कडा विरोधपछि देउवा पछि हटे । तर, यसपछि राजपरिषद् स्थायी समितिले काठमाडौंमा राजपरिषद्को सम्मेलन गर्ने र त्यहाँ ज्ञानेन्द्रको भव्य स्वागत गर्ने कार्यक्रम राख्यो । चौतर्फी विरोधका बाबजुद देउवाले यो कार्यक्रम रोक्ने कुनै जमर्को गरेनन् । 

यसबीच पनि देउवालाई आफ्नै मन्त्रीहरूले राजाले मन्त्रिमण्डल भंग गरेर शासन सत्ता आफ्नो हातमा लिने तयारी गरेको सूचना पाएको बताउँदा पनि उनी भन्ने गर्थे– त्यस्तो केही छैन, तपाईँहरूलाई मनको बाघले खाएको मात्र हो । 

जसले जति पटक यस्तो आंशका प्रकट गर्थ्यो, त्यसलाई उनी हल्का रूपमा लिन्थे । तर, मंसिर पहिलो सातासम्म आइपुग्दा देउवालाई पनि लाग्यो–अब राजाले कु गर्दै छन् । उनले यसको आभास पाएको कुरा आफ्ना केही मन्त्रीहरूसमक्ष पनि राखे ।

त्यसपछि देउवा प्रतिनिधिसभा पुनर्स्थापना र स्थानीय निकाय दुई वर्षका लागि पुर्नजीवित गर्ने प्रस्ताव राजाकहाँ पठाउने तयारीमा लागे । मंसिर १८ को क्याबिनेट बैठकमा यसबारे निर्णय गर्ने सहमति भयो । तर, बीचमै  देउवाले सूचना पाएछन्, विदेशी मुलुकको दबाबमा राजा पछि हटे, राजाले मन्त्रिमण्डल विघटन गर्दैनन् । राजाले हात हाल्न सक्दैनन् । 

देउवाले पाएको सूचना तत्कालका लागि सही साबित भयो । मंसिर १८ मा राजाले त्यस्तो केही गरेनन् । देउवा ढुक्क भएर बसे । तर, माघको दोस्रो सातादेखि सिंहदरबारको शक्ति नारायणहिटीले कुनै पनि बेला खोस्न सक्छ भन्ने कुरा एककान दुईकान मैदान हुँदै फैलियो । नभन्दै माघ १९ को त्यो बिहान पनि आइपुग्यो, जुन दिन ज्ञानेन्द्रले सैन्य कु गर्न सेना परिचालन गरे । नेपाल टेलिभिजनमार्फत राजाले शासन सत्ता आफ्नो हातमा लिएको घोषणा गरे । देउवा सरकार खारेज मात्र गरेनन्, आफ्नो घोषणामा राजनीतिक दलहरू र द्वन्द्वरत माओवादीलाई गालीगलौजको शैलीमा हपार्न पनि भ्याए, ज्ञानेन्द्रले ।

दरबारप्रतिको अति विश्वास र पाएको सूचना पनि देउवाले बेवास्ता गर्दा २०१७ सालको ‘कू’ को इतिहास ४४ वर्षपछि फेरि दोहोरियो । प्रजातन्त्रमा शाही निरकुंशताको धब्बा लाग्यो ।

भारतमा रहेका डा.तुलसी गिरीलाई प्रधानमन्त्री बनाउने भनेर ज्ञानेन्द्रले बोलाउन लगाए । केही दिन काठमाडौंको याक एण्ड यति होटलमा बस्न लगाए । तर, शाही पाश्र्ववती भरतकेशर सिंह, पूर्व प्रधानसेनापति सच्चितशमशेर राणा, तत्कालीन प्रधानसेनापति प्रज्ज्वलशमशेर राणालगायतले ज्ञानेन्द्रलाई मन्त्रिपरिषद्को अध्यक्षमा आफैँ रहन बल गरे । भयो पनि त्यही, प्रधानमन्त्री बन्न आएका डा.गिरीलाई कीर्तिनिधि विष्टसँग हल बाँधेर मन्त्रिपरिषद्को उपाध्यक्षमा सीमित गराए ।  

सक्रिय राजतन्त्रको अभ्यास सुरु भयो । तर, ज्ञानेन्द्रले राजाको रूपमा जनतामाझ गएर ‘बुझेँ बुझेँ’ भन्नेबाहेक देश कसरी चलाउनुपर्छ भन्ने कुरा बाबु महेन्द्र जति पनि बुझ्न सकेनन् । कतिसम्म भने २०६३ चैतको अन्तिम दिन नारायणहिटी राजदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकमा औँला ठड्याउँदै ज्ञानेन्द्र बोले– ‘अब कोहीसँग वार्ता हुने छैन, सबलाई तह लगाइन्छ ।’

तर ज्ञानेन्द्रको माघ १९ को कदमलाई लिएर बिस्तारै बिस्तारै गति लिँदै गएको आन्दोलन वैशाखको पहिलो सातादेखि झनै विशाल बन्दै गयो । जनयुद्धमा होमिएको माओवादी १२ बुँदे सम्झौतामार्फत सात दलसँग जनआन्दोलनमा होमियो । नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा आमजनता,सात दल र माओवादी मिलेर गरेको आन्दोलनको रापताप देखेर नारायणहिटी दरबारको सातोपुत्लो उड्यो । ज्ञानेन्द्रले पहिलो घोषणा गरे । 

आन्दोलनरत दललाई सरकार बनाउन आह्वान गरिएको वैशाख ८ को उक्त शाही घोषणा जनताले रुचाएनन्, खारेज गरे । आन्दोलन जारी रहेको घोषणा भयो ।
वैशाख ९ देखि ११ सम्म देशव्यापी रूपमा निरन्तर अभूतपूर्व प्रदर्शन भयो । वैशाख ११ गते राति ११ बजे अर्को शाही घोषणा गर्दै ज्ञानेन्द्रले आत्मसमर्पण गरे । अनि यो त्यही विन्दु थियो, जहाँबाट राजतन्त्र उन्मूलनको आधार बन्यो ।

२०६१ माघबाट शासन सत्ता आफ्नो हातमा लिएका ज्ञानेन्द्रले ०६३ वैशाख ११ मा ‘जनताको नासो जनतालाई नै फिर्ता गरेको’ बताए । २०५९ असोज १८ मा आफैले विघटित गरेको प्रतिनिधिसभा ब्यूँताएको  घोषणा गरे । पुनः स्थापित प्रतिनिधिसभाको पहिलो बैठक जेठ ४ मा बस्यो, जसले राजतन्त्र नै निलम्बित गर्‍यो । २०६५ जेठ १५ मा बसेको संविधानसभाको पहिलो बैठकले राजतन्त्र हटाएर गणतन्त्र स्थापना भएको घोषणा गर्‍यो । नारायणहिटी राजदरबारमा पत्रकार सम्मेलन गर्दै ज्ञानेन्द्र लुरुलुरु त्यहाँबाट निस्किए ।  

वामपन्थी नेता तथा राजा ज्ञानेन्द्रको मन्त्रिमण्डलमा शिक्षा तथा खेलकुद मन्त्री रहेका राधाकृष्ण मैनालीले आफ्नो पुस्तक ‘नलेखिएको इतिहास’मा कसरी आफ्नै हठका कारण ज्ञानेन्द्र नारायणहिटीबाट बाहिरिनु पर्‍यो भन्नेबारे उल्लेख गरेका छन् । 

उनले लेखेका छन्– ‘भारतीय राष्ट्रिय कांग्रेसका नेता करण सिंह वैशाख ६ गते काठमाडौं ओर्लिएर आन्दोलन मत्थर पार्न दरबारसँग संवाद अगाडि बढाइसकेका थिए । करणको सुझावपछि राजाले आन्दोलनरत दलहरूसहितको नयाँ सरकार गठन गर्ने भित्री पहल सुरु गरेका थिए । यो प्रस्ताव दलहरूलाई मान्य नहुने सूचना दरबारमा पुग्यो ।

वैशाख ११ गतेको वक्तव्यमार्फत सम्पूर्ण सत्ता नै संसदलाई फिर्ता गर्न राजा बाध्य भए । संसद पुनःस्थापना भयो, त्यसबेलासम्म सेनालगायत सुरक्षा निकायका सबै अंगहरू राजामाथिको भरोसा छाडेर भारतीय ओतमा पुगिसकेका रहेछन् । राजाले यो तथ्य पछि मात्र थाहा पाए, आफ्नै हठका कारण ।

किताबमा मैनालीले अगाडि लेखेका छन्– ‘ज्ञानेन्द्रलाई सत्ता हत्याउन सल्लाह दिनेमा तत्कालीन शाही नेपाली सेनाको शीर्ष नेतृत्व पनि थियो भने दलहरूलाई सत्ता बुझाउने सल्लाह दिन पनि सेनाकै अधिकारी सुरिए । गणतन्त्र घोषणा हुने दिनसम्म पनि दरबारले सेनामार्फत आन्दोलन नियन्त्रण गर्न सकिन्छ भन्ने सोचेको थियो, तर त्यतिबेलासम्म प्रधानसेनापति रुक्मांगत कटवाललाई भारतले आफ्नो प्रभावमा पारिसकेको थियो । दरबारको सुरक्षा गरिरहेको सैनिक नेतृत्वलाई कटवालले पटका पड्कायौँ भने पनि सबैलाई भुटिदिन्छु भनेर थर्कमान बनाएका थिए । दरबारको सुरक्षार्थ खटेको सेनाले अलिअलि पटकासम्म पड्काएछन् । यत्तिकैमा स्थिति सामसुम भयो । गणतन्त्र आयो । धरातलीय मूल्याकंनको अभाव, अराजनीतिक व्यक्तिहरूको उक्साहटले अरूलाई ठीक पार्छु भन्ने राजा आफैँ ठेगान लागे ।’ 

हो–त्यही दिनदेखि राजा र राजतन्त्र नेपाली राजनीतिमा एकादेशको कथा भए । एमाले अध्यक्ष केपी ओलीले भनेजस्तै ज्ञानेन्द्र कुशको राजामा रूपान्तरित भए । कुशका तीनै राजा ज्ञानेन्द्र अहिले दुर्गा प्रसाईँ प्रवृत्तिलाई अघि सारेर नारायणहिटी प्रवेशको मौका खोज्दै छन् । तर, के फेरि त्यो इतिहास दोहरिएला र !                         

  • प्रकाशित मिति : माघ १९, २०८० शुक्रबार १२:२१:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया