यू–१९ विश्वकपको अन्तिम खेलमा भारतसँग नेपाल १३२ रनले पराजित

दक्षिण अफ्रिकामा जारी आइसिसी यू–१९ विश्वकप क्रिकेटअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा भारतविरुद्ध नेपाल १ सय ३२ रनले पराजित भएको छ । योसँगै नेपालले हारका साथ १५औँ संस्करणको उमेर समूहको विश्वकपको अन्त्य गर्‍यो । नेपालले यस विश्वकपमा एक खेल मात्र जित्न सक्यो । 

नेपालले समूह चरणमा न्यूजिल्याण्ड र पाकिस्तानसँग हार बेहोर्दा अफगानिस्तानलाई हरायो । यस्तै, नेपाल सुपर सिक्सको पहिलो खेलमा बंगलादेशविरुद्ध ५ विकेटले पराजित भएको थियो । सुपर सिक्सको दोस्रो खेलमा शुक्रबार भारतले दिएको २ सय ९८ रनको बलियो लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन मात्र बनाउन सक्यो ।   

नेपालका लागि कप्तान देव खनालले ५३ बलमा २ चौकासहित सर्वाधिक ३३ रन बनाए । यस्तै, दुर्गेश गुप्ता २९ र आकाश चन्द १८ रनमा अविजित रहे । अर्जुन कुमाल २६ र दीपक बोहरा २२ रनमा आउट भए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । भारतका लागि शौम्य पाण्डेले १० ओभरमा एक मेडनसहित २९ रन दिएर सर्वाधिक ४ विकेट लिए ।   

त्यसअघि ब्लोमफन्टेनमा टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २ सय ९७ रन बनायो । उसका लागि सचिन दास र कप्तान उदय सहारणले शतकीय इनिङ खेले । 

१०१ बलमा ११ चौका र तीन छक्का हिर्काएका दासले सर्वाधिक ११६ रन बनाए । यस्तै, सहारणले १०७ बलमा ९ चौकाको मद्दतमा १ सय रनको पारी खेले । यस्तै, आदर्श सिंहले २१, प्रियांशु मोलियाले १९ र अर्शिन कुलकर्णीले १८ रन जोडे ।

नेपालका लागि गुलशन झाले १० ओभरमा ५६ रन दिएर सर्वाधिक तीन विकेट लिए । यस्तै, आकाश चन्दले एक विकेट हात पारे । आजको जितपछि भारत अपराजित रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ । अब समूह ‘१’ बाट पाकिस्तान र बंगलादेशमध्ये एक टिमले सेमिफाइनलको यात्रा गर्नेछ । यी दुईमध्ये पाकिस्तानको सम्भावना बलियो छ ।    





  • प्रकाशित मिति : माघ १९, २०८० शुक्रबार २२:७:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया