तीन स्रष्टालाई त्रिमूर्ति पुरस्कार

त्रिमूर्ति निकेतनले ‘लेखनाथ काव्य पुरस्कार’, ‘बालकृष्ण सम पुरस्कार’ र ‘देवकोटा काव्य पुरस्कार’बाट तीन स्रष्टालाई पुरस्कृत गरेको छ ।

सत्रौँ त्रिमूर्ति दिवस तथा नाट्यसम्राट बालकृष्ण समको १२२औँ जयन्तीका अवसरमा निकेतनले नेपाली भाषा साहित्यमा समर्पित भई शास्त्रीय छन्द कविताको माध्यमबाट छन्दकाव्य प्रसार, नाट्यक्षेत्रमा समर्पित भई मुलुकमा नाटकको महिमा र गरिमालाई उत्कृष्टतामा पुर्‍याएको र काव्यसाधनामा निरन्तर समर्पित रही नेपाली कविता विकासमा विशिष्ट योगदान पुर्याउने तीन स्रष्टालाई ताम्रपत्र, जनही एक लाख नगद राशिसहित पुरस्कृत गरेको हो । 

छ दशकदेखि नेपाली भाषासाहित्यको योगदानमा समर्पित रहँदै शास्त्रीय छन्दकविताको रचना एवं छन्दकाव्यको प्रचार अभियानमा समेत संलग्न भई विशिष्ट योगदान पुर्याएका प्रा. मुकुन्दशरण उपाध्यायलाई लेखनाथ काव्य पुरस्कार२०७९ प्रदान गरिएको छ ।

मालती मंगले नाटकमा मंगलेको सफल भूमिकाका अतिरिक्त दर्जनौँ नाटकमा उत्कृष्ट अभिनय गरेर जनप्रियता हासिल गरेका हरिबहादुर थापालाई बालकृष्ण सम पुरस्कार, २०७९  प्रदान गरिएको छ ।

त्यसैगरी, नेपाली भाषासाहित्यको विकासमा छ दशकअघिदेखि काव्यसाधनामा निरन्तर समर्पित रहँदै नेपाली कविताको संवर्द्धनमा विशिष्ट योगदान गर्नुका साथै महाकवि लक्ष्मीप्रसाद देवकोटाका अप्रकाशित कृतिको सम्पादनसमेत गरी प्रकाशनमा ल्याएको जयप्रसाद पाण्डेलाई देवकोटा काव्य पुरस्कार, २०७९ प्रदान गरिएको छ ।

निकेतनका संस्थापक तथा सदस्यसचिव नरेन्द्रराज प्रसाईंले तीन मूर्ति बनाउन ठूलो बाधा व्यवधान भए पनि हाल कोष स्थापना भई संस्था सुदृढ अवस्थामा रहेको बताए । त्रिमुर्तिका पुरस्कार राशि सुरुमा १०–१० हजार रहेपनि अहिले एक लाख बनाइएको उनले जनाए । 



लेखनाथ काव्य पुरस्कार, २०७९ बाट पुरस्कृत प्रा. मुकुन्दशरण उपाध्यायले सम्पूर्ण प्रकाशनले नेपाली भाषाको विकासमा संकल्प गर्न जरुरी रहेको बताउँदै विशेषगरी त्रिभुवन विश्वविद्यालय र नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली भाषाको जगेर्नामा उन्मुख हुन आवश्यक रहेको बताए । नेपाली भाषाप्रतिको संरक्षण तथा सम्मानको वातावरण अनुकूल बनाउन आवश्यक रहेको उनको भनाइ छ । 

निकेतनका अध्यक्ष इन्दिरा प्रसाईंले विभिन्न व्यक्तित्वको योगदानले संस्था सुदृढीकरणमा महत्वपूर्ण भूमिका पुगेको उल्लेख गरे । 



यस निकेतनले हरेक वर्ष त्रिमूर्ति दिवसका अवसरमा लेखनाथ पौड्याल पुरस्कार, बालकृष्ण सम पुरस्कार र देवकोटा काव्य पुरस्कार विभिन्न स्रष्टाहरूमा समर्पण गर्दै आएको छ । 

नेपाली भाषासाहित्यका विभूतित्रय कविशिरोमणि लेखनाथ पौडयाल, नाटयसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्मानमा त्रिमूर्ति निकेतनको स्थापना भएको हो ।

  • प्रकाशित मिति : माघ २७, २०८० शनिबार १८:४४:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया