निसी गाउँमा खानेपानीको समस्या : आयोजना बनाउन बजेट अभाव

बागलुङको निसीखोला गाउँपालिका–५ निसीमा वस्ती विस्तार हुँदै गएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा पर्ने निसीगाउँ जनघनत्व बढ्न थालेसँगै खानेपानीको आपूर्तिमा समस्या हुन थालेको छ । अहिलेसम्म यहाँ एक घर एक धारा निर्माण हुनसकेको छैन । 

निसीमा घर–घरमा धारा बने पनि करिब १५ घरपरिवारले एउटै धाराबाट पानी उपभोग गर्नुपर्ने अवस्था रहेको जनाइएको छ । सङ्घीय सरकारले निसीमा एक घर एक धारा निर्माण गर्ने योजना लिए पनि बजेट अभावमा काम हुनसकेको छैन । खानेपानी आयोजना निर्माण सम्पन्नका लागि १२ करोड ९८ लाख रुपैयाँ लागत लाग्ने भए पनि दुई वर्षमा जम्मा २३ लाख रुपैयाँ मात्रै बजेट विनियोजन भएको छ ।  

गत वर्षदेखि सुरु भएको आयोजना यस वर्ष सकिनुपर्ने हो तर बजेट अभावका कारण सर्वेक्षणबाहेक अन्य काम हुनसकेको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीबाट सञ्चालित आयोजनाका लागि सङ्घीय सरकारले आर्थिक वर्ष २०७९/८० मा २० लाख र चालू आवमा ३ लाख ८५ हजार रुपैयाँ मात्रै बजेट विनियोजन गरेको छ ।

करोडौंका आयोजनामा रु २३ लाख ८५ हजार मात्रै विनियोजन हुँदा काम अन्योलमा छ । लामो समयदेखि खानेपानी समस्यामा गुज्रिएका निसीवासी एक घर एक धाराका लागि सर्वेक्षण हुँदा हर्षित भएका थिए । अहिले पनि उनीहरू छिट्टै घर–घरमा धारा बन्नेमा आशावादी छन् । तर, योजना के हुने हो भन्ने टुङ्गो छैन ।

सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीका इन्जिनियर नवीन सुवेदीले दुई वर्षमा सकिनुपर्ने आयोजना बजेट अभावका कारण काम हुन नसकेको बताउँछन् । वस्तीभन्दा धेरै टाढा रहेको नौबहिनी मुहानबाट निसीगाउँमा सात सय ४६ वटा धारा बनाउनका लागि सर्वेक्षण गरे पनि अरू काम गर्न नसकेको उनको भनाइ छ ।

यो आयोजना समयमै सकिए यहाँका ५ हजार ५ सय ८१ नागरिक लाभान्वित हुने इन्जिनियर सुवेदीले बताए । अर्थ मन्त्रालयले स्रोत सुनिश्चितता नगरेसम्म यो काम गर्न नसकिने भन्दै स्थानीय र सांसदले भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।  



स्थानीयवासीसमेत रहेका निसीखोला–६ का वडा सदस्य भरत सुनारले वि.सं २०७४ मा बनेका धाराबाट अहिले पनि स्थानीयले पानी भर्ने गरेको बताए । पछिल्लो समय निसीमा बाहिरबाट आएर पनि मानिस बसोबास गर्न थालेपछि उपभोक्ता बढेको जनाउँदै एउटा धाराबाट १५/६ घरधुरीले पानी उपभोग गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । 

स्थानीय भुलबहादुर विकले तीन दशक अगाडि निर्माण भएका धारा व्यवस्थित नभएको बताए । अव्यवस्थित धाराबाटै स्थानीयले पानी प्रयोग गर्न बाध्य भएको जनाउँदै सरकारले एक घर एक धारा बनाउने भने पनि अहिलेसम्म बन्न नसकेको गुनासो पोखे । पुरानो धाराबाट शुद्ध र स्वच्छ पानीसमेत स्थानीयले पिउन नपाएको उनले बताए । रासस 



  • प्रकाशित मिति : माघ २८, २०८० आइतबार १०:१६:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया