६ महिनामा साढे १० लाख सवारीसाधन ट्राफिक प्रहरीको कारबाहीमा

ट्राफिक प्रहरीले चालू आर्थिक वर्षको ६ महिनामा देशभर १० लाख ५२ हजार ५५ विभिन्न सवारीसाधनलाई कारबाही गरेको छ । गत साउनदेखि पुस मसान्तसम्म गरिएको कारबाहीबाट ७९ करोड ७१ लाख ४४ हजार आठ सय ५२ रुपैयाँ राजस्व सङ्कलन गरेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । 

राजस्वमध्ये काठमाडौं उपत्यकाबाट ३२ करोड ३३ लाख ७० हजार, कोशी प्रदेशबाट ७ करोड ८७ लाख दुई हजार ९४३, मधेशबाट १० करोड पाँच लाख ५८ हजार ९०१, बागमतीबाट ७ करोड ८८ लाख ४० हजार, गण्डकीबाट ८ करोड १८ लाख ७६ हजार छ, लुम्बिनीबाट ९ करोड ३८ लाख ६४ हजार दुई, कर्णालीबाट १ करोड ५६ लाख ४५ हजार र सुदूरपश्चिम प्रदेशबाट २ करोड ४२ लाख ८८ हजार संकलन भएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । 

उनका अनुसार ट्रक/ट्याङ्करबाट १५ करोड १९ लाख ९५ हजार ४ सय, बस/मिनिबसबाट ९ करोड २० लाख पाँच, कार/जिप/भ्यानबाट १८ करोड ९० लाख ७६ हजार ८०६, ट्याक्टरबाट २ करोड ८८ लाख १६ हजार, मोटरसाइकलबाट ३१ करोड १७ लाख ३४ हजार ५४६ र टेम्पो तथा अन्यबाट २ करोड ५३ लाख २१ हजार ६ सय रुपैयाँ राजश्व संकलन भएको हो । 

राजश्व रकममध्ये सबै भन्दा बढी काठमाडौं उपत्यकामा र सबै भन्दा कम कर्णाली प्रदेशमा रहेको केन्द्रीय प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । मादकपदार्थ सेवन गरेर तथा तीव्र गतिमा सवारी चलाउने, लेन अनुशासन कायम नराख्ने, क्षमताभन्दा बढी यात्रु राख्ने, जथाभाबी पार्किङ गर्ने, तोकिएको भन्दा बढी भाडा लिने, आवश्यक कागजात तथा सवारी चालक अनुमति पत्र नभएकालगायतमा कारबाही गरेबापत उक्त रकम राजश्व सङ्कलन गरिएको प्रनाम ढकालले जानकारी दिए । 

उक्त अवधिमा कारबाहीमा परेका १० लाख ५२ हजार ५५ सवारी साधनमध्ये ट्रक/ट्याङ्कर १ लाख ७० हजार ८४२ वटा, बस/मिनिबस एक लाख नौ हजार ३७७, कार/जिप/भ्यान २ लाख ६१ हजार ६३६, ट्याक्टर ४१ हजार ६४१, मोटरसाइकल ४ लाख ३२ हजार ९८ र टेम्पो तथा अन्य ३६ हजार ४६१ वटा रहेका छन् ।

कारबाहीमा परेका सवारीसाधनमध्ये सबै भन्दा बढी मोटरसाइकल रहेको प्रहरी प्रधान कार्यालय नक्सालको तथ्याङ्कले देखाएको छ । रासस 





  • प्रकाशित मिति : माघ २८, २०८० आइतबार १२:५५:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया