इजरायली प्रधानमन्त्री भन्छन्– ‘प्यालेस्टाइनलाई एकतर्फीरूपमा अन्तर्राष्ट्रिय मान्यता दिनु हुँदैन’

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले प्यालेस्टाइनी राज्यलाई एकतर्फीरूपमा अन्तर्राष्ट्रिय मान्यता दिने योजनालाई आफूले अस्वीकार गरेको बताएका छन् । 

इजरायलको सरकारमा रहेका प्रभावशाली अति दक्षिणपन्थी मन्त्रीहरू इटामार बेन–गिभर र बेजालेल स्मोटरिचले शान्तिका लागि विस्तृत योजना बिषयमा द वासिङ्टन पोस्टमा प्रकाशित समाचारबारे राखेको धारणापछि प्रधानमन्त्री नेतन्याहूको यो भनाइ आएको हो ।

केही अमेरिकी र अरब कूटनीतिज्ञहरूलाई उद्धृत गर्दै उक्त पत्रिकामा इजरायलको मुख्य सहयोगी संयुक्त राज्य अमेरिकाले इजरायल र प्यालेस्टाइनबीच दीर्घकालीन शान्तिका लागि विस्तृत योजनाबारे धेरै अरब देशहरूसँग मिलेर काम गरिरहेको उल्लेख गरिएको छ । 

उक्त योजनामा प्यालेस्टिनी राज्यको स्थापनाको लागि एक निश्चित समय सीमा समावेश रहेको थियो । नेतन्याहूले सामाजिक सञ्जाल एक्समा हिब्रु भाषामा लेखेका छन्, ‘इजरायलले प्यालेस्टाइनी राज्यलाई एकतर्फी मान्यता दिने कुरामा विरोध जारी राख्नेछ । अक्टोबर ७ मा भएको नरसंहारपछि यस्तो मान्यताले अकल्पनीय आतङ्कवादलाई ठूलो इनाम दिनेछ र भविष्यमा हुने कुनै पनि शान्ति सम्झौतालाई रोक्नेछ ।’ 

वासिङ्टन पोस्टका अनुसार यो योजना ‘कम्तीमा छ हप्तासम्म चल्ने’ युद्धविरामबाट सुरु हुनेछ र अधिकारीहरूले मार्च १० मा मुस्लिमहरूको पवित्र महिना रमजान सुरु हुनुअघि नै सम्झौतामा पुग्न सक्ने आशा व्यक्त गरेका छन् ।

सम्झौतामा युद्धमा रोक लगाउने, अक्टोबर ७ मा गाजामा हमासले कब्जामा लिएका बन्धकहरूको रिहाई र प्यालेस्टनी राज्यको स्थापनाको लागि एक समय तालिका समावेश हुनेछ । 





  • प्रकाशित मिति : फागुन ४, २०८० शुक्रबार १७:२२:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया