काठमाडौं महानगरको अल्टिमेटम : सात दिनभित्र ललिता निवास क्षेत्रको जग्गा खाली गर्नू
फाइल तस्बिर

काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा खाली गर्न अनुरोध गरेको छ ।

विशेष अदालतले व्यक्तिका नाममा रहेको सरकारी जग्गा फिर्ता गर्न आदेश दिएसँगै महानगरले ललिता निवास क्षेत्रबाट आफैं हट्न व्यक्ति, कम्पनी र संघ–संस्थालाई अनुरोध गरेको हो ।

महानगरले सूचना प्रकाशित गर्दै सात दिनको अवधि दिएर सार्वजनिक सम्पत्तिको संरक्षण गर्न सहयोगका लागि आग्रह गरेको छ ।

‘विशेष अदालत, काठमाडौंबाट वादी नेपाल सरकार र प्रतिवादी कलाधर देउजासमेत १७५ जना भएको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरी भ्रष्टाचार गरेको मुद्दामा २०८० फागुन ३ गते भएको फैसलाबाट काठमाडौँ महानगरपालिका वडा नं.४ बालुवाटारस्थित ललिता निवास क्षेत्रको जग्गा जफत (सरकारी) भएको छ,’ महानगरको सूचनामा भनिएको छ, ‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद–१३ स्थानीय तहको सम्पत्तिको संरक्षण सम्बन्धी व्यवस्थाअन्तर्गत दफा ९७ (१) ले काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका सरकारी, सामुदायिक तथा सार्वजनिक सम्पत्तिको रेखदेख, मर्मत संभार तथा अन्य प्रबन्ध गर्नुपर्ने कानुनी दायित्व महानगरपालिकालाई तोकेको छ । विशेष अदालत, काठमाडौँको उक्त फैसलाबाट जफत (सरकारी) भएको काठमाडौं महानगरपालिका–४ बालुवाटारस्थित ललिता निवास क्षेत्रको सरकारी सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गर्न यो सूचना प्रकाशित गरिएको छ ।’

तोकेको समयभित्र जग्गा नछोडे प्रचलित कानुनबमोजिम हटाइ सरकारी जग्गा तथा सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गरिने बेहोरासमेत महानगरले सूचनामा उल्लेख गरेको छ ।

हेर्नुस्, सूचना : 





  • प्रकाशित मिति : फागुन ९, २०८० बुधबार ८:५६:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया