पहिचान पक्षधरसँग कोशी प्रदेश सरकारको दोस्रो चरणको वार्ता सुरु

कोशी प्रदेश सरकार र पहिचानवादी संगठनका प्रतिनिधिबीच आज दोस्रो चरणको वार्ता सुरु भएको छ । प्रदेशको नामकरणप्रति असन्तुष्ट रहँदै आएको प्रदेश पुनः नामकरण संघर्ष समितिका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच दोस्रो चरणको वार्ता सुरु भएको हो ।

विराटनगरस्थित इस्टर्न स्टार होटलमा बुधबार अपराह्न ४ बजे वार्ता सुरु भएको हो । गत माघ २६ गते दुवै पक्षबीच पहिलो चरणको वार्ता भएको थियो ।

त्यस क्रममा ५ बुँदे सहमति भएको थियो । पहिचान पक्षधरले निषेधको आन्दोलन फिर्ता लिएर शान्तिपूर्ण आन्दोलन गर्ने, आन्दोलनमा घाइते भएकाहरूको सरकारले उपचार गरिदिने र आन्दोलनकारीहरूमाथि लगाइएको मुद्दा फिर्ता लिने सहमति भएको थियो ।

यसैगरी, प्रदेशको पुनः नामकरणको लागि राजनीतिक सहमति जुटाउन पहल गर्ने सहमति पनि गरिएको थियो । वार्तामा सरकारी टोलीबाट उद्योग, कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीलगायत सहभागी छन् ।

कोशी सरकारले भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जबेगु संयोजक रहने गरी वन वातावरण तथा पर्यटन गणेश उप्रेती सदस्य तथा आन्तरिक मामिला मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेलले सदस्य रहने गरी समिति बनाएको थियो । 

मन्त्री खत्रीलाई वार्ता समिति सदस्यमा थप गरिएको हो । प्रदेशको नाम ‘कोशी’ राखिएसँगै पहिचान पक्षधर संगठनले असन्तुष्टि जनाउँदै आएको छ । पुनः नामकरण गरिनुपर्ने मागसहित उनीहरूले आन्दोलन गर्दै आएका थिए ।



आन्दोलनका क्रममा विराटनगरका पहिचान पक्षधर र प्रहरीबीच पटक पटक झडप भएको थियो । त्यस क्रममा आन्दोलनकारीमध्ये एक जनाको मृत्यु भएको थियो । थुप्रै घाइते भएका थिए ।



  • प्रकाशित मिति : फागुन ९, २०८० बुधबार १७:४२:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया