मन्त्री ज्वालाको बर्खास्तगी माग गर्दै मसाल जुलुस

एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बर्खास्त गरिनुपर्ने माग गर्दै मसाल जुलुस निकालेको छ । 

कोरिया भाषा परीक्षा (इपिएस)मा सहभागी गराउन माग गर्दै बालकुमारीमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर दुईजनाको मृत्यु भएको घटनामा दोषी मन्त्री ज्वालालाई बर्खास्त गर्न माग गर्दै त्रिचन्द्र कलेजमा मसाल जुलुस प्रदर्शन गरेको हो । विद्यार्थी नेताहरूले नेपाली युवाको ज्यान लिने मन्त्री ज्वालालाई बर्खास्त गर्नुपर्ने भन्दै नारा लगाएपछि प्रहरीले हस्तक्षेप समेत गरेको छ । 

प्रदर्शनका क्रममा भएको कोणसभालाई सम्बोधन गर्दै अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडालले बालकुमारी घटनामा छानबिन आयोग बनाउँदा दोषीलाई कारबाही र पीडितले न्याय पाउने विश्वास लिएको भए पनि सरकारले मृतक परिवारलाई १० लाख दिएर पन्छिन खोजेको बताए । 

उनले भने, ‘जब सरकारले छानबिन आयोग बनायो । प्रतिवेदन सार्वजनिक भएपछि दोषीलाई कारबाही र पीडितलाई न्याय मिल्छ भन्ने विश्वास लागेको थियो । तर, यो सरकार सिंहदरबारभित्र बसेर एक युवक मूल्य १० लाख तोकेर लास गन्दै बसिरहेको आभास भएको छ । सरकारमा रहेका मन्त्री नै बाकुमारी घटनामा मुख्य दोषी देखिएका छन् भन्ने सुन्नमा आएको छ ।’

सरकारमा रहेका मन्त्री नै दोषी भएको अवस्थामा प्रधानमन्त्री निर्दोष भन्न नपाइने बडालको भनाइ थियो । छानबिन समितिको प्रतिवेदन लुकाएर दोषीलाई उम्कनमा सरकारले नै सहयोग गरेको आरोप लगाउँदै उनले मन्त्री ज्वालालाई बर्खास्त नगर्दासम्म आफूहरुको आन्दोलन जारी रहने चेतावनी दिए । 



गत पुस १३ गते ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो । इपिएसको परीक्षा फाराम भर्ने विषयमा प्रदर्शन हुँदा उनीहरूको मृत्यु भएको थियो । प्रदर्शन भइरहेको ठाउँमा मन्त्री ज्वाला सवार गाडी प्रदर्शनकारीले जलाएका थिए । 

त्यसलगत्तै सरकारले उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेलको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले हालै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा मन्त्री प्रकाश ज्वालाले गरेको कमजोरीका कारण घटना भएको निष्कर्ष निकाल्दै उनलाई कारबाही र सचेत गराउन समेत सिफारिस गरेको छ ।



  • प्रकाशित मिति : फागुन ९, २०८० बुधबार १८:३०:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया