यसरी त्रिविको उपकुलपतिमा नियुक्त भए बराल

त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिविको ४९औँ दीक्षान्त समारोहमा सम्बोधन क्रममा क्षमता र दक्षताको आधारमा मात्रै उपकुलपति नियुक्ति गर्ने घोषणा गरेका थिए । उनले सोहीअनुसार त्रिविलाई सूचना जारी गर्न निर्देशन दिए । 

खुला प्रतिपर्धाका आधारमा त्रिविका उपकुलपति नियुक्तिका लागि सूचना प्रकाशित गरिए पनि तीन वर्ष पदाधिकारी भएको हुनुपर्ने सर्त राखिएपछि प्रधानमन्त्री दाहालले पुनः सूचना प्रकाशित गर्न निर्देशन दिएका थिए । सोहीअनुसार नै नियुक्त प्रक्रिया अगाडि बढेको थियो । 

त्रिविले कार्यविधि संशोधन गरेर जारी गरेको सूचनाको आधारमा उपकुलपतिका लागि ४३ जनाको आवेदन परेको थियो । दरखास्त दिएका ४३ मध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जना छानिएका थिए । प्रधानमन्त्री दाहालले सोहीअनुसार उपकुलपति नियुक्तिको आधार तयार गर्न कस्ता प्रावधान बनाउने भन्ने विषयमा विज्ञसँग छलफल गरे । 

छलफलका आधारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको नेतृत्वमा उपकुलपति छनोट तथा सिफारिस समिति बनाइएको थियो । सिफारिस समितिले त्रिविको उपकुलपति नियुक्तिका लागि प्रधानमन्त्री दाहाल समक्ष चित्रबहादुर बुढाथोकी, प्रा.डा. केशरजंग बराल र टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो ।

कुलपतिसमेत रहेका प्रधानमन्त्री दाहालले त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा १८(२) अनुसार आज प्रा डा केशरजंग बराललाई उपकुलपतिमा नियुक्त गरेका छन् । 

प्रधानमन्त्री दाहालले तीनजनाको नाम सिफारिस गर्दा ‘मेरिटोक्रेसी’ पालना भए/नभएको बारेमा अध्ययन गरेका थिए । त्यसलगतै शिक्षामन्त्री राई एवं शिक्षा सचिव सुरेश अधिकारीसँग छलफल गरेर बराललाई उपकुलपतिमा नियुक्ति गरेकाे प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।





  • प्रकाशित मिति : फागुन १०, २०८० बिहीबार २०:१९:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया