हिउँ पन्छाएपछि अवरुद्ध नाग्म गमगढी सडक पुनः सञ्चालनमा

कर्णाली राजमार्गअन्तर्गत नाग्म गमगढी सडक खण्डमा हिउँ पन्छाएपछि अवरुद्ध यातायात  पुनः सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय जुम्लाको टोलीले सो सडकखण्डको बुलबुले, सिप्टिचौर र सातमोड घुच्ची लेखमा जमेको हिउँ पन्छाएर सडक नियमित सञ्चालन गरेको हो ।

मङ्गलबार, बुधबार र बिहीबार हिउँ पर्दा यो खण्ड अवरुद्ध बनेको थियो । बिहीबार र शुक्रबार दिनभरि सडक डिभिजन कार्यालय जुम्लाले स्काभेटर र सडक रक्षकद्वारा हिउँ पन्छाएर सडक सञ्चालन गरेको सुपरभाइजर जग्गी विकले जानकारी दिए । उनका अनुसार झाड्नौलादेखि सातमोड, सिप्टिचौर हुँदै बुलबुलेसम्मको सडक खण्डमा जमेको हिउँ पन्छाइएको छ ।

हिउँद र वर्षाका समयमा दुई/तीन महिना अवरुद्ध हुने यो सडक दुई वर्षयता सडक डिभिजन कार्यालय जुम्लाले स्काभेटर र सडकका कर्मचारी तैनाथी राखी तुरुन्तै हिउँ, पहिरो र अन्य अवरोध हटाउनाले एक/दुई दिनभन्दा बढी अवरुद्ध हुने गरेको छैन ।

प्रमुख पर्यटकीय गन्तव्य नेपालकै ठूलो र गहिरो ताल रारा घुम्न आउने पर्यटकको स्थलमार्गको सडक पनि यही सडक भएकाले यातायात साधनले यो खण्ड सधैं व्यस्त हुने गर्दछ । 

यो खण्ड व्यस्त र पर्यटकीय मार्ग रहेकाले सिन्जा, चन्दननाथ हुँदै रारा आउने पर्यटकले सडक अवरुद्धकै कारण सास्ती नपाओस् भनेर सडक विस्तार र स्तरोन्नतिमा सडक डिभिजन कार्यालय लागेको सुपरभाइजर विकले बताए । कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडक ९३ किमी दूरी रहेको छ । रासस





  • प्रकाशित मिति : फागुन ११, २०८० शुक्रबार २०:२:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया