त्रिवि उपकुलपति नियुक्तिमा राजनीतिककै रङ, प्रचण्डले तोडे आफ्नै वाचा

विश्वविद्यालयमा मेरिटोक्रेसिका आधारमा उपकुलपतिलगायतका पदाधिकारी नियुक्त गर्ने प्रतिबद्धता जनाएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नै वाचा तोडेका छन् । गत २ पुसमा त्रिविको ४९औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले उपकुलपति छनोटमा मेरिटोक्रेसी लागू गर्ने जनाए पनि उनले अन्त्यमा ‘टिके’ प्रथालाई निरन्तरता दिएका हुन् । 

विश्वविद्यालयमा हुने राजनीतिक भागबन्डा अन्त्य गर्ने जनाएका प्रचण्डले आफ्नो पार्टीनिकट व्यक्तिलाई त्रिवि उपकुलपतिको जिम्मेवारी सुम्पिएका हुन् । कुलपतिसमेत रहेका प्रचण्डले बिहीबार त्रिविको २०औँ उपकुलपतिमा प्राध्यापक डाक्टर केशरजंग बराललाई नियुक्त गरेका छन् ।

प्रधानमन्त्री दाहाल र नवनियुक्त उपकुलपति बराल

मेरिटका आधारमा दोस्रो नम्बरमा परेका बराल प्रचण्डको पहिलो रोजाइमा पर्दा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई संयोजक रहेको सिफारिस समितिले योग्यताको आधारमा पहिलो नम्बरमा सिफारिस गरेका प्राध्यापक डा. चित्रबहादुर बुढाथोकी ओझेलमा परेका छन् ।

समितिले बुढाथोकीलाई ७८ अंकसहित पहिलो नम्बरमा सिफारिस गरेको थियो भने बराललाई ७६ अंकसहित दोस्रो र ७५ अंकसहित प्रा.डा. टंकनाथ धमलालाई तेस्रो नम्बरमा सिफारिस गरेको थियो । बुढाथोकी र बराल माओवादी केन्द्रनिकट तथा धमला नेकपा एमालेनिकट मानिन्छन् ।

प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगन थालाले भनेजस्तै घुमाउरो तरिकाले राजनीतिक भागबन्डा गरेका छन् । खुला प्रतिस्पर्धामार्फत उपकुलपति छनोट गर्ने नाममा प्रधानमन्त्री प्रचण्डले सबैलाई एकपटक झुक्याएका छन् ।



स्रोतका अनुसार मेरिटका आधारमा पहिलो नम्बरमा सिफारिस भएका बुढाथोकीलाई उपकुलपतिमा नियुक्त गर्नुपर्छ भन्ने माग माओवादी केन्द्रका नेताले नै उठाउँदा पनि त्यसलाई बेवास्ता गर्दै प्रचण्डले बराललाई नियुक्त गरेका हुन् । माओवादी नेता तथा पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेल, वर्षमान पुनलगायतले बुढाथोकीलाई नियुक्त गर्नुपर्ने धारणा राखे पनि प्रचण्डले भने उनीहरूको सुझावलाई बेवास्ता गर्दै बराललाई त्रिवि उपकुलपतिमा नियुक्त गरे । 



बराल सर्टलिस्टमा पर्दा नै विवादमा तानिएका थिए । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सदस्यले आर्थिक चलखेलमा मुछिएका व्यक्तिलाई सर्टलिस्टमा पारेको भन्दै बरालको चर्काे विरोध गरेका थिए । समितिले सर्ट लिस्टमा परेका १४ मध्ये त्रिविका निमित्त उपकुलपति शिवलाल भुसाल, पूर्वउपकुलपति तीर्थ खनियाँ र त्रिवि नवनियुक्त उपकुलपति बरालमाथि प्रश्न उठाएको थियो । 

विवादमा परेपछि भुसाल र खनियाँ उपकुलपतिको दौडबाट बाहिरिए भने बराललाई समितिले उपकुलपति नियुक्तिका लागि प्रधानमन्त्रीसमक्ष दोस्रो नम्बरमा सिफारिस गर्यो । समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले गम्भीर आरोप लागेकालाई अल्पसूचीबाटै हटाउनुपर्ने बताएकी थिइन् । तर, प्रधानमन्त्री दाहाल अरूको कुरा सुन्ने पक्षमा देखिएनन् ।  

को हुन् नवनियुक्त उपकुलपति बराल ? 

वि.सं २०१४ मा पाल्पामा जन्मिएका बराल २०३९ सालदेखि नेपालको उच्च शिक्षा क्षेत्रमा सक्रिय छन् । नेपालमा मात्र भएर विदेशका विभिन्न विश्वद्यालयमासमेत अध्यापन गराएको अनुभव हासिल गरेका उनले भारतको दिल्ली युनिभर्सिटीबाट २०५४ सालमा विद्यावावारिधी गरे । २०६४ मा पोखरा विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भएका बराल चारबर्से कार्यकाल सकिएपछि अध्यापनको लागि अमेरिका पुगे । उनीसँग भिजिटर प्रोफेसरको रूपमा चीनमा पढाएको अनुभव पनि छ ।

२०७७ मा त्रिविबाट सेवानिवृत्त भएका बरालले सरकारले गठन गरेका विभिन्न आयोग तथा समितिमा रहेर कामसमेत गरेका छन् । उच्च शिक्षा क्षेत्रमा लामो समय काम गरेको अनुभव हासिल गरेका उनले विश्वविद्यालयका बेथिति र चुनौतीलाई चिर्दै त्रिविलाई नयाँ उचाइमा पुर्याउन सफल होलान् कि बेथितिका वाहक नै बन्लान् ? त्यो हेर्न लायक हुनेछ ।  

  • प्रकाशित मिति : फागुन ११, २०८० शुक्रबार २१:५१:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया