शालीनदी मेला : करिब एक करोड आर्थिक संकलन, २२ लाख भक्तजन

साँखुको शालीनदीमा गत माघ ११ गतेबाट सुरु भएको स्वस्थानी मेलामा करिब एक करोड बढीको सहयोग रकम संकलन भएको छ ।

स्वस्थानी मेला व्यवस्थापन समितिका प्रचार विभाग प्रमुख एलबी श्रेष्ठले दिएको जानकारी अनुसार पसलहरु र अन्य भक्तजनहरुबाट भएको सहयोगबाट करिब एक करोड सहयोग संकलन भएको हो ।

शालीनदीमा परापूर्वकालदेखि एक महिनासम्म चल्दै आइरहेको कठिन व्रत र धार्मिक मेला यसवर्ष गत माघ ११ गतेबाट सुरु भएको थियो । मेला शनिबार (आज)साँझ विशेष समारोहबीच समापन तयारी रहेको मेला व्यवस्थापन समितिका प्रचार विभाग प्रमुख श्रेष्ठले जानकारी दिए । उनका अनुसार यो वर्ष महिला, पुरुष र अन्य गरेर २०९ जना व्रत बसेका थिए ।

एक महिनाको अवधिभर नुन समेत नखाएर व्रत बस्ने प्रचलन रहेको पनि प्रचार विभाग प्रमुख श्रेष्ठले बताए ।  अघिल्लो वर्षहरुको तुलनामा यो वर्ष मेला थप व्यवस्थित ढंगले सम्पन्न गर्न सफल भएको पनि उनको भनाइ छ ।

मेलामा आउने दर्शनार्थीहरु पनि नियमित रुपमा आएकाले एक महिनाको अवधिभर कुनै भीडभाडा र असहज परिस्थिति सिर्जना नभएको उनले बताए ।

माधवनारायण र स्वस्थानीको पूजास्थल शालीनदी क्षेत्रमा एक महिना मेला लाग्ने गर्छ । मेला अवधिभर सभ्य, भव्य तथा शान्तिपुर्ण ढंगले मेला समापन गर्ने तयारी रहेको पनि उनको भनाइ छ ।



माधवनारायण व्रत र शालीनदी मेला नेपालको राष्ट्रिय महत्व र गौरवको विषय भइसकेको हुँदा बर्सेनि दर्शनार्थीहरुको घुइँचो लाग्नेगर्छ । भक्तजनहरुको आस्था, विश्वासका कारण बर्सेनि आगमन बढ्दो क्रममा रहेको पनि श्रेष्ठले बताए ।

उनका अनुसार यो वर्षको मेलामा २२ लाख धार्मिक पर्यटकहरुले मेलाको अवलोकन गरेको पनि उनले जानकारी दिए । यद्यपि, अघिल्ला वर्षहरुको तुलनामा आर्थिक सहयोग संकलन र मेला अवलोकन गर्न आउने दर्शनार्थीहरुको संख्यामा त्यति धेरै फरक भने नरहेको उनको भनाइ छ । शालीनदी काठमाडौंको उत्तरपूर्वी क्षेत्रमा पर्छ ।



  • प्रकाशित मिति : फागुन १२, २०८० शनिबार १७:३९:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया