मिटरब्याजपीडितको पीडा : गाउँ फर्के बैंकले समात्छ, साहुले मार्छ

सर्लाहीको चन्द्रनगर गाउँपालिका–३बरकुर्वाकी चैनियादेवी बिन मुखिया काठमाडौं उत्रिएको तीन दिन भयो । दुई साता पैदल हिँडेर काठमाडौं आएकी उनी मिटरब्याजपीडित हुन् । 

उनले साहुबाट सुरुमा ३ लाख ६५ हजार ऋण लिएकी थिइन् । तर, साहुले मिटरब्याजी हिसाबले उक्त ऋणको ब्याज जोडेर नौ लाख ९५ हजारको तमसुक बनाएर हस्ताक्षर गराए । त्यसपछि उनी घरविहीन भइन् । 

साहुले नौ लाख ९५ हजारबराबरको नौ धुर जग्गा लिए । चैनियादवीको घर पनि त्यही जग्गामा भएकाले घर र जग्गा दुवै साहुले कब्जा गरिदिए । ‘कब्जा गरेको घर, जग्गाबराबरको पूरा पैसा दिए मात्रै फिर्ता दिन्छु, नत्र दिन्न भन्छन् साहु’, उनले भनिन् । त्यसपछि उनी जिल्ला प्रहरी कार्यालय पुगिन् । उजुरी दिइन्, तर सुनुवाइ भएन । 

विन्दु चौधरी भन्ने साहुबाट पीडित चैनिया देवी घरबारवीहिन भएपछि सरकारसँग न्यायको माग गर्दै उनी काठमाडौंसम्म आइपुगेकी हुन् । 

‘सरकारले घर फिर्ता नगर्ने हो भने वा बस्ने स्थानसम्मको व्यवस्था नभए म यहीँ मर्न तयार छु । सडकमै सुत्न तयार छु,’ उनले भनिन् ।

घरमा बालबच्चालाई छाडेर न्यायको खोजीमा काठमाडौं आएकी उनलाई सरकारले केही गर्छ भन्ने आशा थियो, तर पछिल्ला तीन दिनमा केही प्रगति नभएको उनको दुखेसो छ ।



उनले भनिन्, ‘महाजन विन्दु चौधरीसँग ३ लाख ६५ हजार लिएको हुँ । ३ लाख ६५ हजारको ९ लाख ९५ हजार ब्याजसहित तमसुकमा हस्ताक्षर गर्न लगाउनुभयो । हस्तक्षर गरेपछि गरेपछि नौ धुर जग्गा उहाँको नाममा गयो । घर–जग्गा उहाँले नै अदालतमा केस हालेर जित्नुभयो । पूरा पैसा दिए मात्रै घर–जग्गा फिर्ता दिन्छु भन्नुहुन्छ नत्र दिन्न भन्नुहुन्छ ।’

‘जिल्लाको पुलिसले केही गरेन । विन्दु चौधरी नै हो हामीमाथि अत्याचार गर्ने, हामीसँग बस्न घर छैन । हामीलाई घरबाट निकालिदियो । प्रक्रिया मिलाएर हाम्रो हाम्रो घर फिर्ता गरिदिनू, हामीमाथि धेरै अत्याचार भएको छ । यस्तै, हो भने हामी घरमै फाँसी लगाएर वा विष खाएर मर्नु पर्छ । हाम्रो जाने स्थान पनि छैन,’ उनले बिलौना सुनाइन् । 



उस्तै पीडा छ महेन्द्रनगरकी पवित्रादेवी मण्डलको परिवारको पनि । न्याय पाइन्छ कि भन्ने विश्वासका साथ आएकी उनी पनि सरकारले केही गर्न नसकेको गुनासो गर्छिन् । ‘यो सरकार घुस लिएर हामी सबैलाई मार्नेतर्फ लागि रहेको छ,’ उनले भनिन् । 

‘हामी त्यत्तिकै काठमाडौं आएका होइनौँ । धेरै पीडा बोकेर आएका छौँ । बैंक र गाँउ दुवैबाट पीडित छौँ’, उनले भनिन्,‘यस्तो पीडा सरकारले किन सुन्दैन ? बस्ने ठाउँ किन दिँदैन ? हामी रोडमा छौँ ।’

‘गाँउमा गयो भने महाजन र बैंकले मार्छ भन्ने त्रास छ । सरकारसँग ६ बुँदे माग राखेका छौँ, पूरा गरिदिनुपर्यो नि ! माग नभएसम्म हामी यहीँ बस्छौँ, यहीँ मर्छौं,’ उनले भनिन् । 

धनुषाको धनुषाधाम नगरपालिका २ का जुगेन्द्र यादव पनि उस्तै समस्याबाट पीडित छन् । उनी साहुले दिनुहुँ धम्क्याउने र तर्साउने गरेको बताउँछन् । ‘जग्गा राखेर ३६ प्रतिशत ब्याजदरले दुई करोड पाँच लाख रुपैयाँ तिरेको छु । पहिला तीन प्रतिशतमा लोन लिएको हो, अहिले बढाएर १३ –१४ प्रतिशत पुर्याएको छ’, उनी भन्छन् । 

‘अहिले जग्गा बैंकले धमाधम लिलामी गरिरहेको छ । धमक्याउने–तर्साउने गरिरहेको छ । दलालहरु घरमा पठाउँछ र धम्याउने काम भएको छ । एक लाखको पाँचपाँच लाखसम्म बनाएको छ,’ उनले दुखेसो सुनाए । 

पाँच लाख लिनेहरुको ३० लाख रुपैयाँसम्म पुर्याएको, साहुलाई पटक–पटक गर्दै ऋण दिइसक्दा पनि जग्गा फिर्ता नगरेको उनको भनाइ छ । पीडित झनै पीडित भइरहेको, कानुन पालना नभएको र सरकारले पनि पीडितको मर्का नबुझेको उनको गुनासो छ । 

  • प्रकाशित मिति : फागुन १२, २०८० शनिबार १८:४:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया