रुससँगको युद्धमा दुई वर्षको अवधिमा मारिए ३१ हजार युक्रेनी सैनिक

रुस–युक्रेन युद्ध सुरु भएको २ वर्षमा युक्रेनले आफ्ना ३१ हजार सैनिक गुमाएको बताएको छ । सन् २०२२ को फेबुअरी २४ देखि सुरु भएको युद्धको २ वर्ष पूरा भइसकेको छ । तर, युद्ध अझै रोकिएको छैन । 

युक्रेनका राष्ट्रपति भ्लादिमर जेलेन्स्कीले रुसले आक्रमण सुरु गरेदेखि अहिलेसम्म ३१ हजार सैनिक मारिएको शनिबार बताएका छन् । तर, उनले घाइते सैनिकको संख्या भने सार्वजनिक नगर्ने प्रष्ट पारे ।

युद्धका कारण दुई देशका हजारौं सैनिक र नागरिकले ज्यान गुमाएका छन् भने लाखौं सर्वसाधारण युद्धको नकारात्मक प्रभावसँग जुधिरहेका छन्  । युद्धबाट भएको मानवीय, भौतिक क्षतिसँगै आर्थिक सामाजिक क्षेत्रमा परेको असर नगन्य छ । 

रुस–युक्रेन युद्ध सुरु भएपछि ४० लाखभन्दा बढी युक्रेनी नागरिक देश छोडेर अन्य देशहरूमा शरणार्थीको रूपमा बसिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । युक्रेनका १० हजार नागरिकको मृत्यु भइसकेको छ भने १८ हजार ५ सय घाइते भएका छन् । यस्तै, लगातारको युद्धका कारण देशमै रहेका ६५ लाखभन्दा बढी युक्रेनीहरू त्रासपूर्ण र अन्योलताका स्थितिमा रहेका छन् । विशेषगरी बालबालिकालाई युद्धले गहिरो चोट दिएको छ । 

युक्रेनी मात्रै नभएर रसियन नागरिक पनि युद्धको असर भोगिरहेका छन् । दुई देशबीचको युद्धले पश्चिमा राष्ट्रलाई ध्रुवीकृत बनाएको  छ । आफूभन्दा शक्तिशाली रुससँगको लडाइमा युक्रेनलाई अमेरिका, बेलायत, इयुजस्ता संस्थालगायतका शक्ति राष्ट्रहरूले आर्थिक र अन्य सहयोग गर्दै आएका छन् । युद्ध सुरु भएपछि रुसले युक्रेनको १८ प्रतिशतमा रुसले कब्जा जमाएको अमेरिकी संस्था इन्स्टिच्युट फर स्टडी अफ वारले जनाएको छ ।

रुसी सेनाले युक्रेनको डोनेट्स्क, लुहान्स्क, जापोरिझिया, खेरसन र खार्किभका केही भागहरू कब्जा गरेको छ । रुसी सेनाले सन् २०१४ मा युक्रेनी प्रायद्वीप क्रिमिया कब्जा गरेको थियो ।  त्यसपछि रुस युक्रेनबीचको सम्बन्धमा दरार थप बढेको थियो भने २०२२ मा रुसले युक्रेनमा एकतर्फी आक्रमण सुरु गरेपछि युक्रेनले पनि जवाफी आक्रमण सुरु गरेको थियो ।



युद्धको प्रभाव विश्वस्तरमै परिरहेको छ । तेल, खाद्यान्न लगायतका कुराको महँगी दर निरन्तर बढी रहेको छ । यतिमात्र होइन युद्धको असरबाट नेपाल पनि अछुतो छैन । युद्धको असर नेपालीले पनि भोगिरहेका छन् ।  



  • प्रकाशित मिति : फागुन १४, २०८० साेमबार ९:८:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया