विश्वकप लिग–२ : घरेलु मैदानमै किन कमजोर देखियो नेपाल ?
तस्बिर : क्यान

आइसिसी क्रिकेट विश्वकप लिग–२ सिरिज खेल्नुअघि नेपाली टिमले क्यानडासँग तीन खेलको एकदिवसीय श्रृंखलामा प्रतिस्पर्धा गर्‍यो । सो सिरिज ३–० ले ‘क्लिन स्विप’ गरेपछि नेपाली टोलीमा थप आत्मविश्वास बढ्यो ।

त्यसपछि टिमले लक्ष्य राख्यो– घरेलु मैदानमा हुने लिग–२ सिरिजको सबै खेल जित्ने । तर, नेपालले नेदरल्याण्ड्स र नामिबियासँगको लिग–२ श्रृंखलामा घरेलु मैदानको फाइदा उठाउन सकेन ।

नेपालले सिरिजमा चारमध्ये जम्मा एक खेल मात्र जित्न सक्यो । पहिलो खेलमा नामिबियासँग ४ विकेटको हार बेहोरेको नेपालले दोस्रो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले हरायो ।

उक्त फराकिलो जितपछि नेपालले बाँकी दुई खेल जित्नेमा खेलाडी/समर्थक आशावादी थिए । तर, नेपालले पछिल्लो दुई खेलमा नामिबियासँग २ र नेदरल्याण्ड्ससँग ८ विकेटको हार बेहोर्‍यो । नेपालको यो प्रदर्शन गत संस्करणको लिग–२ को पहिलो सिरिजको भन्दा कमजोर हो । 

सन् २०२० मा लिग–२ को आफ्नो पहिलो सिरिजमा नेपालले चारमध्ये दुई खेल जितेको थियो । टियू मैदानमै भएको उक्त सिरिजमा नेपालले अमेरिकाविरुद्ध जित निकाल्दा ओमानसँगको दुवै खेल गुमायो । सो सिरिजमा बेहोरेको दुई हारका कारण नेपाललाई पछि दबाब बढ्यो ।



यदि लिग–२ को अन्तिमतिर सानदार कमब्याक नगरेको भए नेपाललाई त्यतिबेला ठूलै घाटा हुने थियो । पहिलो संस्करणको सुरुवाती प्रदर्शनभन्दा यसपटक थप खराब खेलेकाले नेपाललाई आगामी खेलमा दबाब बढ्ने देखिन्छ । आइतबार सम्पन्न त्रिकोणात्मक सिरिजमा नेपाल ब्याटिङ/बलिङमै चुक्यो । यो श्रृंखलामा नेपालका लागि आसिफ शेख, कुशल भुर्तेल र अनिल साहले मात्र अर्धशतकीय पारी खेल्न सके । 



बाँकी ब्याटरले भने निराशाजनक प्रदर्शन गरे । बलिङतर्फ नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ७ विकेट लिए । उनीपछि अर्का स्पिनर ललितनारायण राजवंशी रहे । उनले ४ खेलमा ६ विकेट हात पारे । पिच स्पिन अनुकूल भएकाले फास्ट बलरद्वय सोमपाल कामी र करण केसीले यो सिरिजमा अपेक्षाकृत प्रदर्शन गर्न सकेनन् ।

नामिबिया र नेदरल्याण्ड्सका लागि तीव्र गतिका बलरभन्दा स्पिनरले यो सिरिजमा सानदार प्रदर्शन गरे । नेदरल्याण्ड्सका युवा स्पिनर आर्यन दत्तले यही श्रृंखलामा करियरकै उत्कृष्ट बलिङ गरे । उनले नामिबियाविरुद्ध ९ ओभरमा ३४ रन दिएर ६ विकेट लिए ।

यस्तै, नामिबियाका कप्तान जेहार्ड इरास्मसले पनि करियरकै उत्कृष्ट बलिङ गरे । उनले नेपालसँगको खेलमा ८.१ ओभरमा २८ रन मात्र दिँदै ५ विकेट लिए । यसरी हेर्दा लिग–२ को पहिलो सिरिज स्पिनरका लागि विशेष रह्यो । 

बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले दोषी ठहर गरेपछि हाल क्यानको निलम्बनमा रहेका लेगस्पिनर सन्दीप लामिछाने पनि यो सिरिजमा हुन्थे भने नेपालले नतिजा आफ्नो पक्षमा पार्ने सम्भावना बलियो थियो । किनकी टियू मैदानमा सन्दीपको रेकर्ड सानदार छ ।

उनले यही मैदानमा सन् २०२० मा लिग–२ कै खेलमा अमेरिकाविरुद्ध ६ ओभरमा एक मेडनसहित १६ रन मात्र दिएर ६ विकेट लिएका थिए । साथै, सन्दीप अघिल्लो संस्करणको लिग–२ मा सर्वाधिक विकेट लिने स्पिनर पनि हुन् ।

उनले उक्त संस्करणमा ३० इनिङ्समा ४.०४ को इकोनमीमा ७२ विकेट लिएका थिए । 

  • प्रकाशित मिति : फागुन १४, २०८० साेमबार १५:२:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया