डुम्रे–बेँसीसहर दुई लेन सडकमा ६ किलोमिटर कालोपत्र सकियो

लमजुङ र तनहुँ जोड्ने मुख्य सडक डुम्रे–बेँसीसहर सडक दुई लेन बनाएर ६ दशमलव ५ किलोमिटर सडक कालोपत्र सम्पन्न भएको छ । तनहुँ डुम्रे बजारबाट २ सय २० मिटर अघिदेखि आठ दशमलव तीन किलोमिटर चाम्बाससम्म पहिलो चरणमा दुई लेन सडक बनाएको र सोमध्ये हालसम्म उक्त किलोमिटर सडक कालोपत्र सम्पन्न गरिएको डुम्रे–बेँसी–चामे सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी इञ्जिनियर किरण पोखरेलले बताए । यहाँ ‘अस्फाल्ट’ किसिमको कालोपत्र भइरहेको छ ।

हालसम्म पाइप कल्भर्ट, स्याल्भ कल्भर्टको काम, सडक चौडाइ पुर्‍याउन कटिङ गर्ने, टेवा (पर्खाल) उठाउने काम सम्पन्न भएको छ । सो सडकमा च्याम्बास बजारमा रहेको घरनिर र डुम्रे बजारको पुल नजिकैको भागमा नाली बनाउने काम भइरहेको उनको भनाइ छ । 

केही समय कालोपत्रको लागि सामग्री अभाव भएर रोकिए पनि केही दिनअघिदेखि कालोपत्रको काम सुरु भइरहेको र तीव्ररूपमा अघि बढ्ने डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयले जनाएको छ ।  

कार्यालयका अनुसार कालोपत्र गर्न बाँकी रहेको अधिकांश भागमा पनि तह मिलाउने कार्य सम्पन्न भएको छ । तनहुँको डुम्रे बजारबाट लमजुङतर्फ निर्माणाधीन यस सडक राजमार्गको मापदण्ड दायाँबायाँ ‘राइटअफ वे’ सहित १५/१५ मिटरको हुने भएको छ । त्यस्तै, १०÷१० मिटरको लगतकट्टा भइसकेको छ । अधिग्रहण गरेकोमध्ये चौडाइ ११ मिटरमा सडक संरचना बनिरहेको उक्त कार्यालयले जनाएको छ । यसअघि तीन दशमलव ७५ मिटरको क्यारिज वे (भारवाहन सडक) रहेकोमा सात मिटरको हुनेछ । 

त्यस्तै, दायाँबायाँ एक÷एक मिटरको ‘सोल्जर’ तथा एक÷एक मिटरको नाली निर्माण भएको छ । उक्त कार्यालयका अनुसार यस सडकको सो काम वि.सं २०८० कात्तिक २२ गतेसम्म सक्ने गरी आशिष अनेस्ट जेभीले २२ वैशाख २०७७ मा सम्झौता गरेको थियो । तर, निर्धारित समयमा काम सम्पन्न हुन सकेन । पुनः म्याद थप गर्दै आगामी असार मसान्तसम्म कालोपत्र सम्पन्न गरिसक्नुपर्ने  इञ्जिनियर पोखरेलले बताए । 

च्याम्बारका घरका विवाद र सडकमा पर्ने बिजुलीका पोलका कारणले समेत निर्माणमा ढिलाइ भए पनि यतिबेला सबै समस्याको समाधान भएको बताइएको छ । कालोपत्र सकिएपछि रोड फर्निचर (पेन्टिङ) गर्ने र किलोमिटर पोस्ट राखिने बताइएको छ । डुम्रे बेँसीसहर सडक ४२ किलोमिटरको दुरीमा रहेको छ । यस सडकको तनहुँ डुम्रेदेखि लमजुङकोे सिमाना पाउदी बजारसम्म २४ किलोमिटरको छ । 



सडकका लागि भ्याट बाहेक रु ७५ करोड ९४ लाख ९७ हजारको लागत अनुमान गरिएकोमा उक्त जेभीले ३८ करोड ९ लाख ८६ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको कार्यालयले जनाएको छ  ।  

छिमेकी जिल्ला तनहुँको डुम्रे बजारबाट विसं २०२९ मा खन्न सुरु गरिएको बेँसीसहरसम्मको ४२ किलोमिटर सडकको काम सक्न  करिब साढे एक दशक लागेको थियो । विसं २०४६ मा ट्रयाक खुलेसँगै विसंं २०५२ देखि एक लेनको कालोपत्र थालिएको थियो । सुरु गरेको चार वर्षको अवधिमा ४२ किलोमिटर सडकको कालोपत्र सम्पन्न भएको थियो । डुम्रे बेँसीसहरको सडक हुँदै हिमाली जिल्ला मनाङका स्थानीयवासी समेत आवतजावत गर्दछन् ।



सडक दुई लेन भई कालोपत्र सम्पन्न भएपश्चात् तीन जिल्लाका स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुने भएका छन् । यात्रा थप सहज हुनुका साथै समय समेत घट्नेछ । उक्त स्थानमा मात्र नभइ डुम्रेदेखि बेँसीसहरसम्ममै दुई लेनको सडक निर्माण गरेर कालोपत्र गरेमा यात्रा झनै सहज हुने स्थानीयवासीको भनाइ छ ।   

लमजुङका स्थानीयवासी यातायातको सुविधा नहुँदा डुम्रेसम्म हिँडेरै खाद्यान्न, लत्ताकपडा लगायतका सामग्री ल्याउनेसमेत गर्दथे । त्यस्तै, काठमाडौँ, पोखरा जानुपर्दा यहाँका स्थानीयवासी हिँडेरै डुम्रे बजारसम्म पुग्ने गरेको थिए । उक्त बाध्यता हटे पनि अझै यात्रा भने सहज हुनसकेको छैन । अहिले सडक ट्र्याक खुलेर एक लेनबाट पनि दुई लेन हुँदैछ । रासस 

  • प्रकाशित मिति : फागुन १५, २०८० मंगलबार १४:२९:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया