टेरामक्स अनुसन्धान अन्तिम चरणमा पुगेको छ, छिट्टै रिजल्ट आउँछ : अख्तियार प्रमुख राई

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले टेरामक्स प्रकरणको अनुसन्धान अन्तिम अवस्थामा पुगेको दाबी गरेका छन् ।प्रतिनिधिसभाको सार्वजनिक  लेखा समितिले मंगलबार अख्तियार प्रमुख प्रेम राई र आयोगका सचिवसँग यस विषयमा चासाे राखेकाे थियाे । 

बैठकमा उनले टेरामक्स प्रविधिमा भ्रष्टाचार प्रकरणको अनुसन्धान टुंगिन लागेको बताएका हुन् । लेखा समितिको बैठकमा उनले भने, ‘अनुसन्धान करिब अन्तिम अवस्थामा पुगेको छ, केही समयभित्रै रिजल्ट आउनसक्छ।’ 

समितिले अख्तियारलाई विभिन्न समयमा शीघ्र अनुसन्धान गरी निष्कर्षमा पुग्न र अभियोजन प्रक्रियामा लैजान दिएका निर्देशनहरूको कार्यान्वयनको अवस्था, कार्यप्रगतिका विषयमा आयोगका प्रमुख राईलाई सोधेको थियो । गैरआर्थिक भ्रष्टाचारजन्य कार्यको समेत प्रभावकारी रूपमा अनुसन्धान गरी त्यस्ता कार्यहरूलाई कारबाहीको दायरामा ल्याउन समितिले आयोगलाई निर्देशन दिएको थियाे ।

त्यस्तै, समितिले सरकारलाई पनि भ्रष्टाचार प्रकरणका अनुसन्धानका लागि विभिन्न मुलुकहरूसँग सूचना लिनुपर्ने भएकाले त्यसका लागि सम्झौता गर्न पनि निर्देशन दिएको छ । 

सभापति ऋषिकेश पोखरेलले भने, 'अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा अन्य अनुसन्धान गर्ने सरकारी निकायहरूले कतिपय विषय र अवस्थाहरूमा बहुआयामिक अध्ययन/अनुसन्धान र अन्य सूचना आदानप्रदान गर्नुपर्ने हुन्छ । सो कार्यका लागि बहुपक्षीय, दुईपक्षीय सम्झौता आवश्यक हुन्छ,' सभापति पोखरेलले भने, 'यस्ता सम्झौताहरू हुन नसकेको कारण अनुसन्धान प्रक्रिया प्रभावित हुन गएको देखिएकोले आवश्यकताअनुसार बहुपक्षीय र दुईपक्षीय सम्झौताहरू गर्न, संसद्बाट अनुमोदन गराउने कार्यलाई प्राथमिकताका साथ गर्न/गराउन समितिको यो बैठक नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन गर्दछ ।'



तत्कालीन सञ्चारमन्त्रीका हैसियतमा निर्णय प्रक्रियामा सहभागी भएको भन्दै अख्तियारले बहालवाला स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत, कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की र तत्कालीन सञ्चार सचिव रहेका हालका मुख्यसचिव वैकुण्ठ अर्यालसँग पनि बयान लिएको छ ।



  • प्रकाशित मिति : फागुन १५, २०८० मंगलबार १७:४८:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया