कोशी प्रदेशमा बढ्यो गाँजा ओसारपसार, माघ यता दुई हजार किलो बरामद

पूर्वी नेपालका पहाडी जिल्लाहरूमा उत्पादन भएको गाँजा मोरङको सीमावर्ती क्षेत्रमा भण्डारण गरी भारतमा बिक्री गर्न गिरोह सक्रिय रहेको पाइएको छ । गत एक महिनाको अवधिमा मात्र प्रहरीले करिब दुई हजार किलो गाँजा बरामद गरेपछि गाँजा ओसारपसारमा ठूलो गिरोह रहेको निष्कर्षमा प्रहरी पुगेको हो । 

ओसारपसार, बेचबिखन र प्रयोगमा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको गाँजा धनकुटा, उदयपुर, तेह्रथुम, भोजपुर लगायतका जिल्लामा उत्पादन गरी भारत पुर्‍याउने गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । पहाडी क्षेत्रमा उत्पादन भएको गाँजा एम्बुलेन्स तथा तरकारी बोक्ने सवारीमार्फत ओसारपसार गरी भारततर्फ पुर्‍याउने गिरोह पछिल्लो समय सक्रिय रहेको प्रहरीको भनाइ छ । 

पूर्वी पहाडी जिल्लामा गाँजाको खेती नै गरेर सेवनका लागि तयारी भएको गाँजा सीमावर्ती क्षेत्रसम्म आइपुग्दा सुरक्षा निकायको भूमिकामाथि नै प्रश्न उठ्ने गरेको छ । तर प्रहरी भने बर्सेनि गाँजा खेती फडानी गर्ने, उत्पादन तथा ओसारपसार गर्ने गिरोहको सञ्जाल भत्काउने अभियानमा सक्रिय रहेको दाबी गर्छ । लागु औषध दुर्व्यसनलाई निरुत्साहन गर्न विभिन्न सचेतनामूलक अभियान सञ्चालन गरिरहेको कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले बताए । 

कोशी प्रदेश प्रहरी कार्यालयकाअनुसार गत माघ महिनायता एक हजार ९ सय १९ किलो गाँजा बरामद गरिएको छ । चालू आर्थिक वर्षको सात महिनामा मात्रै प्रदेशभर दुई हजार आठ किलो गाँजा बरामद भएको छ । अघिल्लो आर्थिक वर्षमा यो प्रदेशमा पाँच हजार आठ सय १५ किलो गाँजा बरामद भएको थियो । प्रहरीले गाँजालगायत लागु औषधसहित चालु आर्थिक वर्षको माघसम्ममा ७५८ जनालाई पक्राउ गरेको छ । अघिल्लो आर्थिक वर्षमा प्रहरीले एक हजार एक सय ५१ जनालाई लागु औषधसहित नियन्त्रणमा लिएको थियो । 





  • प्रकाशित मिति : फागुन १६, २०८० बुधबार १४:४७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया