गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणका लागि १ अर्ब १० करोडको टेण्डर आह्वान

चितवनको भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि टेण्डर आह्वान गरेको छ । महानगरपालिकाले रंगशालाको पहिलो चरणको निर्माण कार्यका लागि १ अर्ब १० करोड रुपैयाँको टेण्डर आह्वान गरेको हो ।

भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन रंगशाला करिब ३ वर्षदेखि अलपत्र अवस्थामा थियो । रंगशाला निर्माणको नेतृत्व लिएको धुर्मुस–सुन्तली फाउन्डेसनले आर्थिक सहयोग जुटाउन नसकेपछि महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गरेको थियो ।

महानगरपालिकाले बिहीबार सार्वजनिक सूचना जारी गरेर इच्छुक र योग्य कम्पनीलाई एक महिनाभित्र आवेदन पेस गर्न आह्वान गरेको हो । भरतपुर महानगरपालिकाका वरिष्ठ इञ्जिनियर सन्तोष आचार्यका अनुसार टेण्डरको प्रस्ताव ३१औँ दिनमा खोलिनेछ । त्यसको करिब दुई हप्तामा प्राप्त प्रस्तावहरूको मूल्यांकन गरी छनोट भएको कम्पनीलाई निर्माणको जिम्मा दिइनेछ । 

रंगशाला प्रकृतिको काम गरेको निर्माण कम्पनीलाई प्राथमिकता दिइने महानगरपालिकाका वरिष्ठ इञ्जिनियर आचार्यले जानकारी दिए । टेण्डरसम्बन्धी गुनासो भए २० दिनभित्र महानगरपालिकामा सम्पर्क गर्न प्रकाशित सूचनामा भनिएको छ ।

रंगशालाको पहिलो चरणमा १० हजारजना क्षमताको स्टयाण्ड, मैदानको सम्पूर्ण काम, पेभेलियनसहित दुईवटा टावर बिल्डिङ निर्माण हुनेछ । यो काम पूरा हुँदा रंगशालाको क्षमता १५ हजार जनाको पुग्नेछ । 

महानगरपालिकाले विगत ५ वर्षमा सरदर ५८ करोड रुपैयाँको वार्षिक निर्माण कारोबार गरेको राष्ट्रिय निर्माण कम्पनीसँग बोलपत्र आह्वान गरी रंगशाला निर्माणको प्रक्रिया थालेको हो ।



यसअघि बागमती सरकार र भरतपुर महानगरपालिकाले क्रमशः ७० र ३० को साझेदारीमा रंगशाला निर्माण गर्ने सहमति भएसँगै अलपत्र अवस्थामा रहेको रंगशाला निर्माण गर्ने निश्चित भएको थियो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भ्रमण वर्ष २०२४ को एउटा आकर्षक गन्तव्य रंगशाला भएकाले सकारात्मक सन्देशका लागि भ्रमण वर्ष उद्घाटन अगावै टेण्डर आह्वान गरिएको बताइन् । 



लामो समयको मिहिनेत, प्रयास र तत्परताले रंगशाला निर्माण कार्य सुनिश्चित भएकाले नेपाली खेलकुद जगतका लागि उत्साह थपिएको उनले उल्लेख गरिन् । उनले सन् २०२७ मा हुने यू–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता यही मैदानमा खेलाउने गरी तयारी थालिने बताइन् । 

गत २३ कात्तिकमा नेपाल सरकारको मन्त्रिपरिषद बैठकले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, मोरङको विराटनगर र काठमाडौंको मूलपानीलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाउने निर्णय गरेको थियो ।

रंगशाला निर्माणको लागि छनोट भएको कम्पनीले साढे २ वर्षभित्र रंगशाला बनाइसक्नु पर्नेछ । रंगशालाको सबै काम पूरा गर्न साढे ३ अर्ब रुपैयाँ लाग्छ ।  

  • प्रकाशित मिति : फागुन १७, २०८० बिहीबार ९:२०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया