अनलाइनबाट हुने हिंसा न्यूनीकरण गर्न डिजिटल साक्षरतालाई व्यापक बनाउनुपर्छ : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अनलाइनका माध्यमबाट हुने हिंसालाई न्यूनीकरण गर्न डिजिटल साक्षरतालाई व्यापक बनाउनुपर्नेमा जोड दिएकी छन् । 

राष्ट्रिय महिला आयोगले आज यहाँ आयोजना गरेको ‘अनलाइनमा महिला सुरक्षा’ अन्तरक्रियामा मन्त्री शर्माले अनलाइनको खतराको विकसित प्रकृतिलाई न्यूनीकरण गर्न स्थानीय स्तरसम्म डिजिटल शिक्षालाई विस्तार गर्न जरुरी रहेको बताइन् । 

‘प्रविधि आफैँमा पूर्वाग्रही हुँदैन । हिंसाको अन्त्य गर्न प्रविधिको भूमिका महत्त्वपूर्ण छ । अनलाइनको सदुपयोग गर्न सकेमा हामीले धेरै लाभ लिन सक्छौँ’, उनले भनिन्, ‘सरकारी, गैरसरकारी संस्था, सञ्चारमाध्यम तथा विद्यालय स्तरका पाठ्यक्रममा अनलाइनको सदुपयोगबारे सचेतना जगाउन आवश्यक छ ।’ 

उनले डिजिटल शिक्षालाई ग्रामीण स्तरसम्म विस्तार गर्न जरुरी रहेको समेत उल्लेख गरिन् । मन्त्री शर्माले अनलाइनबाट हुने हिंसाको न्यूनीकरणसम्बन्धमा सरकारले कानुनी व्यवस्था गरी सम्बोधन गर्ने बताइन् । 

‘विश्वव्यापी सामाजिक सञ्जालको प्रयोग र नियमनलाई सरकारले बेवास्ता गर्न सक्दैन । यसबारे सरकार सजग छ’, उनले भनिन्, ‘राष्ट्रिय साइबर सुरक्षा नीति, सामाजिक सञ्जाल (प्रयोग तथा नियमन) ऐनमा गरिएका व्यवस्थाले अनलाइनबाट हुने हिंसा न्यूनीकरणमा सहयोग गर्नेछ ।’   





  • प्रकाशित मिति : फागुन १७, २०८० बिहीबार १६:१३:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया