प्रदीप भन्छन्, ‘महाजात्रा चुनौती सामना गर्न तयार छ’


लेखक तथा निर्देशक प्रदीप भट्टराईका लागि चैत ९ गते विशेष दिन छ । फिल्म ‘जात्रा’बाट ठूलो पर्दामा निर्देशकीय पाइला चालेका भट्टराईले पहिलो निर्देशकीय फिल्मबाटै सफलताको स्वाद चाखे । 

यसको दोस्रो सिक्वेल ‘जात्रै जात्रा’लाई पनि दर्शकले ‘जात्रा’ जस्तै मनपराइदिए । अब यिनै निर्देशक प्रदीप चैत ९ गतेबाट जात्राको तेस्रो श्रृङ्खला ‘महाजात्रा’ लिएर दर्शकमाझ आउँदैछन् ।

निर्देशक भट्टराई ‘जात्रा’ का अघिल्ला सिरिजको लोकप्रियताले ‘महाजात्रा’ निर्माणमा क्रममा उत्साह र चुनौती दुवै अनुभूत गरेको बताउँछन् । तर, महाजात्राले दर्शककालाई हलसम्म लैजाने चुनौतीको सामना गर्न तयार रहेको उनी बताउँछन् । 

‘बजारमा ‘जात्रा’को सिरिज चल्यो भनेर ‘महाजात्रा’ बनाइएको होइन । अघिल्ला दुई सिरिजमा दर्शकको जुन क्रेज थियो, त्यो क्रेजलाई हलसम्म पुनः फर्काउन हामीलाई उत्तिकै चुनौती छ । ‘महाजात्रा’ चुनौती सामना गर्न तयार छ किनकी हामीले यो फिल्म दर्शककै लागि बनाएका हौं’ भट्टराईले भने । 

प्रदीप फिल्म प्रदर्शनपछि दर्शकको ‘वर्ड अफ माउथ’ले पनि फिल्म चल्नेमा आफू ढुक्क रहेको बताउँछन् । ‘अघिल्ला दुई सिरिज सफल हुनुमा वर्ड अफ माउथ पनि प्रमुख थियो।’ 
मह सञ्चारमा झन्डै डेढ दशक काम गरेपछि फिल्म ‘जात्रा’ मार्फत निर्देशनमा डेब्यु गरेका प्रदीपले ‘शत्रु गते’,‘जात्रै जात्रा’ र ‘महापुरुष’ जस्ता चर्चित फिल्म निर्देशन गरिसकेका छन् । यी फिल्मले बक्सअफिसमा आफूलाई अब्बल साबित गरिसकेका छन् ।

महाजात्राले भारतबाहेकको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ । एमएसएम इन्टरटेनमेन्टका प्रमुख छत्र थापा आफूहरुले फिल्मको पछिल्लो शृङ्खलाले गरेको व्यापार र दर्शकले अन्य फिल्म हेर्न आउँदा देखाएको चासोको आधारमा खरिद गरेको बताए ।



 ‘यसको लोकप्रियता र यसले गर्ने व्यापारकै कारण हामीले लगभग फिल्म बिक्री पनि गरिसकेका छौँ । अर्थात् महाजात्रा एक–दुई देश बाहेक बिक्री भइसकेको छ’, थापाले भने ।
निर्देशक भट्टराईका अनुसार फिल्ममा जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रुपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई प्रस्तुत गरिएको छ ।

फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुन जंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय छ । फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् ।



  • प्रकाशित मिति : फागुन १९, २०८० शनिबार १०:२१:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया