logo-img

कमाउन र रमाउन विदेश नै जानुपर्छ भन्ने छैन, सरकारले रोजगारीको नयाँ योजना ल्याउँछ : अर्थमन्त्री
फाइल तस्बिर

अर्थमन्त्री डा. प्रकाशरण महतले ग्रामीण क्षेत्रको विकासका निम्ति सरकार प्रतिबद्ध रहेको बताएका छन् । देशमा रोजगारीका अवसरको सृजना तथा शैक्षिक रुपान्तरणका माध्यमबाट उन्नयनको मार्गमा अग्रसर हुन सहज हुने भन्दै उनले कमाउन र रमाउन विदेश नै जानुपर्छ भन्ने मान्यताबाट  मुक्त हुनुपर्ने बताए । 

नुवाकोटको शिवपुरी गाउँपालिका–४ सिक्रेस्थित स्याउरीभूमे माध्यमिक विद्यालयको ४१औँ वार्षिकोत्सव तथा अभिभावक भेलालाई आज सम्बोधन गर्दै अर्थमन्त्रीले गाउँगाउँमा विकास र शैक्षिक गुणस्तरमार्फत युवा वर्गलाई रोजगारीमा केन्द्रित गराउने योजना तथा बजेट कार्यान्वयनमा सरकार केन्द्रित रहेको बताए ।

‘गाउँगाउँमा उत्पादन बढाएर गाउँका सहरमा पुर्याउनुपर्छ,’ उनले भने, ‘पूर्वाधारको विकास र प्राविधिक–आधुनिक शिक्षामार्फत नयाँ फड्को मार्ने प्रयासमा सरकार केन्द्रित छ ।’ युवालाई आफ्नै गाउँमा टिकाउन रोजगारको सिर्जनाका लागि पूर्वाधार विकास र गुणस्तरीय शिक्षा नै पहिलो आधार भएकाले सोहीअनुसार सरकारले नयाँ–नयाँ योजना कार्यान्वयनमा ल्याएको अर्थमन्त्रीले जानकारी दिए । 
    
‘अहिले विकासको रफ्तार सुरु भएको छ । गाउँगाउँमा सडक सहितको पूर्वाधारको विकास र कृषिको आधुनिकीकरण र यन्त्रिकरणबाट उब्जनीलाई बढावा दिँदै ती सामग्री सहरमा पुर्याउनुपर्छ,’ उनले भने, ‘सडकसहित सिँचाइ, खानेपानीलगायत ग्रामीण पूर्वाधार विकासमा चालु आर्थिक वर्षदेखि सरकारले प्राथमिकता दिएकाले मुलुकमा विकासले नयाँ फड्को मार्ने चरणमा प्रवेश गरेको  छ ।’

लामो समयसम्म शिथिल बनेको देशको अर्थतन्त्रमा सुधार हुँदै गएको तथा गाउँमै केही गर्न सकिन्छ भन्ने उद्यमी पनि रहेका दृष्टान्त प्रस्तुत गर्दै  अर्थमन्त्री  महतले भने, ‘सुधारिएको अर्थतन्त्रले रोजगारी र उद्यमी बढ्ने क्रममा छन्, पूर्वाधार निर्माण, गुणस्तरीय शिक्षाको व्यवस्था गरेर सरकारले गाउँ केन्द्रित नयाँ कार्यक्रम सञ्चालनमा जोड दिइएको छ ।’

‘कमाउन र रमाउन विदेश नै जानुपर्छ भन्ने छैन,’ उनले अगाडि भने, ‘परिवार पाल्न र सन्ततिको भविष्य सुनिश्चित हुने वातावरण नेपालमा नै हुनेछ भन्नेमा विश्वास गर्न आग्रह गर्दछु ।’ उनले व्यावसायिक कृषिमा लाग्न स्थानीय किसानलाई सुझाव पनि दिए ।  





  • प्रकाशित मिति : फागुन २०, २०८० आइतबार १७:४४:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया