अमेरिका-बेलायत पुग्छ धराने खुकुरी

एउटा उखान छ, ‘जहाँ गोर्खाली त्यहाँ खुकुरी, जहाँ खुकुरी त्यहाँ गोर्खाली ।’ संसारमा नेपालीलाई चिनाउने ‘वीर गोर्खाली’ सँगै गोर्खाली हतियार ‘खुकुरी’ पनि हो । गोर्खाली र खुकुरी एक अर्काका परिपूरक हुन् भन्ने माथिको उखानबाट पनि बुझ्न सकिन्छ । 

अहिले यो खुकुरी गोर्खालीको पहिचान र सानमा मात्र सीमित छैन, यो एउटा गतिलो व्यापार पनि बनेको छ । मुलुकमै सबैभन्दा धेरै खुकुरी उत्पादन लामो धरानमा समयदेखि हुने गरेको छ । धरानमा बनेका खुकुरी नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय बजार अमेरिका, बेलायत, चीन, भारत, सिङ्गापुरलगायत धेरै वटा देशमा पुग्ने गरेका छन् । त्यसबाट खुकुरी व्यवसायीले मासिक लाखौं रुपैयाँ नेपाल भित्र्याई रहेका छन् । 

धरानमा व्यावसायिकरूपमा खुकुरी उद्योग सञ्चालन गर्ने धेरैजना छन् । त्यसैमध्येका एक छन्, घमान सिंह विश्वकर्मा । वैदेशिक रोजगारीमा सात वर्ष बिताएपछि स्वदेशमै केही गर्ने सोचले फर्किएका विश्वकर्माले आफ्नै पुख्र्यौली पेसालाई व्यावसायिक रूप दिने योजना बनाए । 

त्यसपछि उनले करिब एक दशकअघि धरान–१५ मा सुस्मिता खुकुरी उद्योग खेले । सुरुमा तीन लाख रुपैयाँ लगानी गरेर आफ्नै घरमा लघु उद्योग खोल्नु भएको विश्वकर्मा आफैं खुकुरी बनाउँछन् । उनी माग धेरै भएका बेला अन्य कालीगढलाई पनि लगाएर खुकुरी बनाउँछन् । विश्वकर्माका अनुसार धरान नेपालमै सबैभन्दा धेरै खुकुरी उत्पादन हुने ठाउँ हो । उनी भन्छन्, ‘यहाँ उत्पादन भएका खुकुरीहरू भारत, चीन, क्यानडा, सिङ्गापुर, दुबई, अमेरिकादेखि बेलायतसम्म पुग्छन् ।’

धरानकै गोविन्द दर्नाल पनि विगत १२ वर्षदेखि धरान खुकुरी उद्योग सञ्चालन गर्छन् । दर्नालका बाबु छोराले सञ्चालन गरेको खुकुरी उद्योगमा एक जना कालीगढ पनि छन् । उनहरूले उत्पादन गरेका खुकुरी पनि देशदेखि विदेशसम्म पुग्ने गरेका छन् ।

घरेलु उद्योगका रुपमा मात्र होइन, ठूलो व्यवसायका रूपमा खुकुरी उद्योग सञ्चालन गर्नेहरू पनि धेरैजना छन् धरानमा । दुई दशकदेखि न्यू गोर्खाली खुकुरी इण्डष्ट्रिज सञ्चालन गर्दैआउनु भएका दीपक दर्नाल त्यसको एक उदाहरण हुन् । दर्नालले अहिले ३० जना कालीगढ राखेर उद्योग सञ्चालन गरिरहेका छन् । कोरोना महामारी भन्दा अगाडि त उनको उद्योगमा ६० जना कालीगढ थिए । 



उद्योग सञ्चालक दर्नालका अनुसार पहिला विदेशमा निर्यात हुने खुकुरीमध्ये रुसमा झाडी फाँड्न, सिंगापुर र बेलायतमा सुरक्षागार्डले प्रयोग गर्नका लागि खुकुरीको माग हुने गरेको थियो । अहिले भने अन्तर्राष्ट्रिय बजारमा सामान्य गुणस्तरका खुकुरीको माग हुने गरेको छ । त्यसमध्ये सबैभन्दा बढी अमेरिका जाने गरेको दर्नाल बताउँछन् ।

खुकुरी उद्योगबाट हाल मासिक ९० हजार रुपैयाँदेखि एक लाखसम्म आम्दानी हुने गरेको उनको भनाइ छ । ‘पहिला धेरै राम्रो थियो । अहिले बजार खस्किएको छ । विस्तारै राम्रो होला भन्ने आशामा छौँ,’ दर्नालले भने । रासस 



  • प्रकाशित मिति : फागुन २१, २०८० साेमबार १४:४०:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया