टी–२० सिरिजमा नेपाल र हङकङ भिड्दै, यस्तो छ सम्भावित प्लेइङ–११

त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालले आज आयोजक टिम हङकङसँग खेल्दैछ । नेपाल र हङकङबीचको खेल बिहान ११ः१५ देखि मोङकोकस्थित मिशन रोड ग्राउन्डमा सुरु हुनेछ ।  

दुवै टिम पहिलो खेल जित्दै सिरिजमा सुखत सुरुवात गर्ने योजनामा छन् । सिरिजअघि नेपाल र हङकङले शनिबार मैत्रीपूर्ण टी–२० म्याच खेलेका थिए । सो खेलमा नेपाल ७३ रनले पराजित भयो । नेपाल आइतबार मैत्रीपूर्ण खेलमा बेहोरेको हारको बदला लिने योजनामा छ । 

हङकङ घरेलु मैदानको फाइदा उठाउँदै फेरि नेपाललाई स्तब्ध पार्ने दाउमा छ । हालसम्म नेपाल र हङकङले १० वटा टी–२० खेलमा एकअर्काको सामना गरेका छन्, जसमा नेपालले ६ र हङकङले चार खेल जितेको छ ।  

हङकङपछि नेपालले सिरिजमा दोस्रो खेल मंगलबार खेल्ने पपुवा न्यूगिनीसँग खेल्ने तालिका छ । यो सिरिजमा नेपाली टिममा आसिफ शेख, अनिलकुमार साह, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, सोमपाल कामी र ललितनारायण राजवंशी छैनन् । 

क्यानका अनुसार उनीहरूलाई आगामी श्रृंखलाका लागि विश्राम दिइएको हो । यी ६ प्रमुख सदस्यको स्थानमा नेपालले युवा खेलाडीलाई प्राथमिकता दिएको छ । यद्यपि उनीहरूले हङकङविरुद्धको मैत्रीपूर्ण खेलमा भने त्यसको फाइदा उठाउन सकेनन् । 



सिरिजको पहिलो खेलमा नेपालले प्लेइङ–११ मा दुई खेलाडी परिवर्तन गर्ने सम्भावना छ । नेपालले आइतबार विवेककुमार यादव र सागर ढकाललाई विश्राम दिएर लोकेश बम र करण केसीलाई मौका दिने सम्भावना रहेको हो ।  



नेपालको सम्भावित प्लेइङ–११ : कुशल भुर्तेल, विनोद भण्डारी (विकेटकिपर), रोहितकुमार पौडेल (कप्तान), आरिफ शेख, लोकेश बम, गुलशन झा, राशिद खान, करण केसी, प्रतिश जिसी र आकाश चन्द ।  

हङकङको सम्भावित प्लेइङ–११ : मार्टिन कोएत्जी, निजाकत खान (कप्तान), अंशुमन रथ, बाबर हयात, जेमी एटकिन्सन (विकेटकिपर), एजाज खान, यासिम मुर्तजा, अतीक इकबाल, नसरुल्ला राना, एहसान खान र धनञ्जय राव ।  

  • प्रकाशित मिति : फागुन २७, २०८० आइतबार ६:३८:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया