जुलाईदेखि आप्रवासी श्रमिक नलिने मलेसियाको निर्णय

मलेसिया सरकारले आगामी जुलाईदेखि आप्रवासी श्रमिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । श्रम बजारमा आप्रवासी श्रमिकको संख्या बढी भएको भन्दै मलेसियन सरकारले मे मसान्तसम्म आप्रवासी श्रमिकलाई प्रवेश दिने र त्यसपछि रोक लगाउने घोषणा गरेको हो । 

मलेसियाको गृह मन्त्रालयले मे मसान्तपछि आप्रवासी कामदारलाई प्रवेश नदिने भन्दै त्योभन्दा अगावै आवश्यक श्रमिक भित्र्याउन भनेको छ । गृहमन्त्री सेरी सैफुद्दीन नासुसन इस्माइलले शुक्रबार पत्रकार सम्मेलन गर्दै सरकारले आप्रवासी श्रमिकको संख्यालाई नियन्त्रण गर्न चाहेको बताए ।

‘कुल श्रम शक्तिको १५ प्रतिशत मात्रै विदेशी श्रमिक राख्ने नीति तय भएको छ, त्यसअनुसार स्वीकृत कोटामा कम्पनीहरूलाई आप्रवासी कामदार भित्र्याउनका लागि मे ३१ सम्मको समय दिइएको छ,’ उनले भने । 

मलेसियाको श्रम शक्ति करिब १ करोड ७० लाख छ । सरकारी नीतिअनुसार त्यसको १५ प्रतिशत अर्थात् २५ लाख ५० हजार आप्रवासी श्रमिकलाई अवसर दिइनेछ । तर अहिले नै २१ लाख ३० हजार ९३१ आप्रवासी मलेसियामा कार्यरत छन् । त्यसमध्ये नेपालीहरू मात्रै ५ लाख हाराहारीमा छन् । 

मलेसियामा अहिले कम्पनीहरूले ओभरटाइम नदिएका कारण आप्रवासी कामदारको आकर्षणसमेत घटिरहेको छ । कतिपय काम नपाएर अलपत्र समेत परिरहेका छन् । ०७५ सालयता नेपालबाट शून्य लागतसहितको श्रम सम्झौता गरेपछि मलेसियाले नेपालीलाई प्राथमिकतामा राखेर लैजाने गरेको छ ।  





  • प्रकाशित मिति : फागुन २७, २०८० आइतबार ९:१५:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया