आइसिसी वरियतामा नेपाली खेलाडीको छलाङ, कसको स्थान कहाँ ? [भिडियोसहित]
सन्दीपको वरियतामा पनि सुधार
फाइल तस्बिर

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को नयाँ टी–२० आई वरियतामा नेपाली खेलाडीले आफ्नो स्थानमा व्यापक सुधार गरेका छन् । नेपाली क्रिकेटरले लामो समयपछि विधागत वरीयतामा व्यापक सुधार गरेका हुन् ।

वरियतामा छलाङ मार्ने सूचीमा कप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्सन झा र करण केसी रहेका छन् । उनीहरूले विश्व क्रिकेटका कयौँ स्टारलाई पछि पारेका छन् ।

भारतका शुभमन गिल, जिम्बाब्वेका सिकन्दर राजा, इंग्ल्याण्डका मोइन अली, पाकिस्तानका मोहमद नवाज, अस्ट्रेलियाका मिचेल मार्सजस्ता विश्व चर्चित क्रिकेटर नेपाली खेलाडीभन्दा पछि परेका हुन् । 

मिचेल मार्स

नयाँ टी–२० वरियतामा अलराउन्डरतर्फ दीपेन्द्रसिंह ऐरीले एकैपटक ४८ स्थान सुधार गरेका छन्  । उनले हालै घरेलु मैदानमा सम्पन्न त्रिकोणात्मक टी–२० आई सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका थिए । सो श्रृंखलामा ऐरीले १३२ रन बनाउनुका साथै ४ विकेट लिए ।

सोही कारण उनी टी–२० वरियताको २७औँ स्थानमा उक्लिएका छन् । पछिल्लो समय ऐरी ७५औँ स्थानमा थिए । उनी कुनै बेला टी–२० आईको अलराउन्डतर्फ नवौँ स्थानमा थिए । तर, केही महिना टी–२० आई क्रिकेट नखेल्दा दीपेन्द्रको वरियता खस्किएको थियो । 



यस्तै, उनले ब्याटिङतर्फ ३१ स्थान सुधार गरेका छन् । योसँगै दीपेन्द्र ७०औँ स्थानमा उक्लिएका छन् । उनले एकदिवसीय बलिङमा एक स्थान सुधार गरेका छन् । योसँगै दीपेन्द्र ६३औँ स्थानमा उक्लिएका छन् ।



यस्तै, टी–२० आई अलराउन्डरतर्फ कुशल मल्लले एकैपटक २७ स्थान सुधार गरेका छन् । योसँगै उनी ३५औँ स्थानमा उक्लिएका छन् । कुशलले पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

उनले केही दिनअघि सम्पन्न नेपाल, नेदरल्याण्ड्स र नामिबियासँगको टी–२० सिरिजमा ७ विकेट लिनुका साथै १२६ रन बनाएका थिए । टी–२० अलराउन्ड वरियतामा गुल्सन झाले २२ स्थान सुधार गरेका छन् । योसँगै उनी ७२औँ स्थानमा उक्लिएका छन् ।  

त्यस्तै, करण केसी अलराउन्डतर्फ २४ स्थान सुधार गर्दै ८१औँ स्थानमा उक्लिएका छन् । त्यस्तै, कप्तान रोहितकुमार पौडेलले ब्याटिङतर्फ ३६ स्थान सुधार गरेका छन् । यसअघि ९०औँ स्थानमा रहेका उनी नयाँ वरियतामा ५४औँ स्थानमा उक्लिएका छन् ।

पछिल्लो समय रोहित उच्च लयमा छन् । उनले हालै नेदरल्याण्ड्स र नामिबियासँगको सिरिजमा १७३ रन बनाएका थिए । रोहित टी–२० अलराउन्डतर्फ एकैपटक ८८ स्थान सुधार गर्दै ९२औँ स्थानमा उक्लिएका छन् । यस्तै, नेपालका ओपनिङ ब्याटरद्वय आसिफ शेख ७३औँ र कुशल भुर्तेल ७७औँ स्थानमा छन्  । 

टी–२० बलिङ वरियताको शीर्ष सयभित्र भने कुनै पनि नेपाली बलर छैनन् । एकदिवसीय बलिङ वरियतामा भने स्पिनर ललितनारायण राजवंशी ५४औँ स्थानमा उक्लिएका छन् ।

यस्तै, तीव्र गतिका बलर सोमपाल कामी ८०औँ स्थानमा छन् । हाल टिममा नरहे पनि पूर्वकप्तान सन्दीप लामिछानेले एकदिवसीय बलिङ वरीयतामा एक स्थान सुधार गरेका छन्  । ताजा बलिङ वरियतामा उनी ४२औँ स्थानमा छन् । 

सन्दीपले ५ सय २ रेटिङ अंक पाएका छन् । खेलाडीले विधागत वरियतामा सुधार गरे पनि नेपाल भने यथास्थान छ । नेपाल हाल एकदिवसीयतर्फ १५ औँ र टी–२० वरियतामा १६ औँ स्थानमै रहेको हो ।  

  • प्रकाशित मिति : फागुन २८, २०८० साेमबार ८:५६:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया