प्रधानमन्त्रीलाई विश्वासको मत दिन एमालेले जारी गरेन ह्विप
प्रचण्डले विश्वासको मत नपाए कांग्रेसले अल्पमतको सरकार बनाउँछ : ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भोलि (बुधबार) प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाए कांग्रेसले अल्पमतको सरकार बनाउने खतरा रहेको बताएका छन् । प्रधानमन्त्रीले विश्वासको मत नपाए देश दुर्घटनामा जाने भन्दै उनले पार्टीका सबै सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएका छन् । 

मंगलबार संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकमा उनले यस्तो बताएका हुन् । यद्यपि, एमलेले प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्विप जारी गरेन । ओलीले आफ्नो निर्देशनलाई नै ह्विप मानेर दाहाललाई विश्वासको मत दिन सबै सांसदलाई निर्देशन दिए ।

नयाँ सत्ता समीकरण सकारात्मक भएको बताएका ओलीले एमालेको लागि समीकरण सबैभन्दा राम्रो विकल्प हो कि होइन भन्नेतर्फ अहिले नगई जसरी पनि दाहाललाई विश्वासको मत प्राप्त गर्न सफल बनाउनुपर्नेमा जोड दिए । 

ओलीले भने, ‘अहिलेको यो परिवर्तन सकारात्मक छ । यसैलाई अगाडि बढाउनुपर्छ । यो असफल हुनु भनेको देश ठूलो असफलतामा जानु हो । एमालेका लागि यो बेस्ट अप्सन हो कि होइन भन्ने कुरा छोडिदिऊँ, यतिबेला अर्को कुनै विकल्प छैन ।  कि प्रचण्डको नेतृत्वमा बनेको समीकरणले जित्छ । नत्र संविधानको धारा ७६ को उपधारा ३ अनुसार नेपाली कांग्रेसको भोलि अल्पमतको  सरकार बन्छ । दुईवटा मध्ये एउटा कुरा हुन्छ ।’

उनले कांग्रेसको सरकार बने देश दुर्घटनामा जाने र त्यसो हुनबाट रोक्नुपर्ने भन्दै थपे, ‘हामी सबै उत्साहको साथ मतदान गर्नेछौँ । कमरेडहरूलाई निर्देशन नै हो,’ ओलीले भने । नयाँ सत्तासमीकरण सरकारमा जाने हतारोले नबनेको बताएका उनले तत्कालीन गठबन्धन ‘खरानीको डल्लो’ भएको र त्यसलाई आफुले फुटाइदिएको बताए ।

‘गठबन्धनमा हुनेहरूको उन्माद थियो । यो खरानीको डल्लो अमर छ, तोडफोड नै हुन नसक्ने कुरा थियो । खरानीको डल्लो फुट्नुपर्थ्यो,’ उनले भने । ओलीले सरकार परिवर्तन एमालेले नै गरेको र जस पनि आफैँले पाउनुपर्ने भन्दै उक्त विषयमा चीनलाई बीचमा नल्याउन आग्रह गरे ।
 





  • प्रकाशित मिति : फागुन २९, २०८० मंगलबार १७:६:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया