रुसी सेनामा भर्ना भएका थप सात जना नेपालीको मृत्यु

रुसी सेना भर्ना नेपाली नागरिकहरूलाई नेता फिर्ता गराउन सरकारले उच्च प्राथमिकतामा राखेर कुटनीतिक प्रयास गरिरहेको जनाएको छ । विभिन्न उद्देश्यले रुस पुगेका नेपालीहरु गैरकानूनीरुपमा रुसी सेनामा भर्ती भएका र अहिले रुस-युक्रेन युद्धमा परेर ज्यान गुमाइरहेको अवस्थामा रुसी सेनामा रहेका नेपाली नागरिकहरूलाई स्वदेश फिर्ता ल्याउन उनका आफन्त र परिवारजनले माग गरिरहेका छन् ।

सरकारले विभिन्न चरणमा त्यसकालागि पहल गरेपनि सफल हुन सकेको छैन । नयाँ गठबन्धन सरकारका तर्फबाट नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री बनेपछि बिहीबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै सरकारले उच्च प्राथमिकतामा राखेर कुटनीतिक प्रयास गरिरहेको जनाएको छ । 

मन्त्रालयका अनुसार रुसी सेनामा थप सात जनाको मृत्यु भएको छ । योसँगै रुसी सेनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ । 

परराष्ट्रका अनुसार पछिल्लो पटक धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बागलुङका जितबहादुर विक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तानको रुस-युक्रेन युद्धमा मृत्यु भएको छ । 

‘रुसी सेनामा ज्यान गुमाएका नेपालीहरुको परिवारलाई रुसी सरकारबाट क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेको उपचार गर्न तथा त्यहाँ कार्यरत नेपालीलाई फिर्ता पठाउनका लागि रुसी सरकारलाई पुनः अनुरोध गरिएको छ,’ परराष्ट्रले भनेको छ । 



नेपालबाट रुसी सेनामा जान सरकारको अनुमति छैन । पछिल्लो समय अन्य विभिन्न उद्देश्यले जानेहरुलाई समेत सरकारले नो अब्जेक्सन लेटर लिएर मात्रै जान भनेको छ । 



  • प्रकाशित मिति : चैत २, २०८० शुक्रबार ९:३५:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया