कोशी प्रदेशले अन्तरराष्ट्रिय सगरमाथा दिवस मनाउने

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले अन्तरराष्ट्रिय सगरमाथा दिवस कोशी प्रदेशले मनाउने बताएका छन् । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)ले आज काठमाडौंमा आयोजना गरेको ‘अन्तरक्रिया कार्यक्रम’मा उनले विश्वको सर्वोच्च शिखर सगरमाथा भएको प्रदेशले कोशीले अन्तरराष्ट्रिय सगरमाथा दिवस मनाउने बताए । 

‘कोशी प्रदेशको पर्यटन क्षेत्रको विकास गर्न तथा भारतीय पर्यटकलाई जोड्नका लागि प्रदेशले काम गरिरहेको छ । दरभंगा, सिक्किम, पटनालगायत क्षेत्रका पर्यटकलाई कोशीमा भित्र्याउन हामी लागिरेहका छौँ,’ मुख्यमन्त्री कार्कीले भने । 

सरकार र व्यवसायी एक सिक्काका दुई पाटो भएकाले व्यवसायीको समस्यामा सहजीकरण गर्न प्रदेश सरकारले महत्वपूर्ण भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे । ‘व्यवसायीलाई संरक्षण गरे मात्र उनीहरुले तिरेको करबाट सरकार सञ्चालन हुन सक्छ,’ उनले भने । 

कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले प्रदेशको पर्यटन विकासका लागि सरकारले काम गरिरहेको बताए । ‘हामीले प्रदेशमा भएका पर्यटकीय सम्भावनाको खोजी गरिरहेका छौँ । यसको संरक्षण र प्रवद्र्धनमा प्रदेश सरकार योजनासहित काम गर्नेछ,’ उनले भने । 

गैरआवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्ष रोजिना प्रधान राईले सगरमाथा दिवसलाई विश्वभर चिनाउनका लागि एनआरएनएले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् । पर्यटन बोर्डका वरिष्ठ निर्देशक मणिराज लामिछानेले अन्तरराष्ट्रियस्तरमा नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि बोर्डले काम गरिरहेको उल्लेख गरे । 

टानका अध्यक्ष नीलहरि बास्तोलाले स्थानीय सरकारले जथाभावी मोटरबाटो खन्दा पदमार्गहरु मासिँदै गएको भन्दै चिन्ता व्यक्त गरे । विदेशी पर्यटकलाई सही सूचना दिनका लागि पदयात्रा सूचना प्रणाली (टिम्स)लाई कार्यान्वयन गर्न सबै लाग्नुपर्नेमा उनले जोड दिए । 





  • प्रकाशित मिति : चैत ३, २०८० शनिबार १७:२४:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया