जति सुने पनि धित नमर्ने सुजनकाे स्वर
नेपाल आइडलबाट उदाए, संगीतकाे दुनियाँमा छाए

हिजोआज प्रतिभावान् व्यक्तिलाई आफ्नो प्रतिभा देखाउन धेरै प्लेटफर्म उपलब्ध छन् । पछिल्लो समय नेपालमा पनि मानिसको रुचिअनुसारको रियालिटी सोहरू छ्याप्छ्याप्ती देखिएको छ । 

रियालिटी सोमा पुगेका प्रतियोगीहरूको एउटै चाहना हुने गर्छ– आफूलाई सबै सामु चिनाउने । त्यो दौरानमा कतिपयले आफ्नो सपना पूरा गर्न सक्छन् । कतिपयको चाहना सपना मात्र बनिदिन्छ ।

यस्तै, प्रतियोगीमध्ये एक चितवनका सुजन चापागाईं नेपाल आइडलको पहिलो सिजनमा भाग लिन पुगे । अडिसनपश्चात् परीक्षाका कारण उनले पहिलो सिजनमा प्रतिस्पर्धा गर्न पाएनन् ।

तर, उनमा गायनको धोको भने अझै पनि मरेको थिएन ।  त्यसैले, सुजनले थप मिहिनेत गरेर तेस्रो सिजनमा सहभागी भई डिजिटल अडिसनमा छनोट भए । तर, विडम्बना ! दर्शक र निर्णायकबाट राम्रो तारिफ पाए पनि उनी अन्तिम ३० मा पुगेपछि बहिरिए ।  

यतिसम्म हुँदा पनि सानैदेखि संगीतमा रुचि भएका सुजनको गाउने रहर कत्ति पनि डग्मगाएन । ठूलो स्टेजमा माइक समातेर गीत गाउने सपना बोकी हिँडेका उनी अन्ततः अहिलेका अब्बल दर्जाका गायकको रूपमा आफूलाई चिनाउन सफल भएका छन् । उनका प्रायः गीत युट्युबमा सार्वजनिक भएलगत्तै करोडौँ भ्युज बटुल्ने गर्छ । किनकि उनको गायनमा मौलिकता र छुट्टै मिठास भरिएको हुन्छ । उनको आवाज मन नपराउने सायदै भेटिएलान् ।

सुजनले ‘तीनपाते’ बोलको गीतबाट संगीतिक क्षेत्रमा डेब्यु मारे । उनको डेब्यु नै धमाकेदार भइदियो । ‘तीनपाते’को म्युजिक भिडियो युट्युबमा अपलोड भएसँगै यसको चौतर्फी चर्चा सुरु भयो । 



दर्शक–श्रोतादेखि सांगीतिक क्षेत्रकै व्यक्तिहरूले गीत र भिडियो दुवै पक्षको तारिफ गरे । गीतमा हर्क साउदले शब्द लेखेका थिए भने संगीतको काम सुजनले नै गरेका थिए । गायनमा सुजनलाई विद्या तिवारीले साथ दिएकी छिन् । उनले गाएका सबैजसो गीत उत्तिकै हिट छन् । चाहे त्यो ‘घुमी घुमी’ होस वा ‘गाला पुक्क’,‘फुलथुंगे रानी’ वा ‘ऊनको स्विटर’ नै किन नहोस् । जति सुने पनि धित नमर्ने खालका छन्, उनका गीत ।

उनले गाएका गीतलाई एकान्तमा सुन्नुको मजा नै छुट्टै हुने गर्छ । भनी उनका फ्यानहरू अक्सर तारिफ गर्ने गर्छन् । ‘क्लासिकल र पप सम्मिश्रण गरेर गीत गाउने उनको शैलीका कारण युवापुस्ता उनको स्वरको पर्खाइमा सधैँ नै हुन्छन् । सुजनको गीत ऊनको स्विटरकै कुरा गरौँ :



आजभन्दा आठ महिनाअघि सुजन चापागाईंको आवाजमा रहेको उनको स्विटर फिल्मको कभर गीत सार्वजनिक भएको थियो । जसमा सुजनले २ अन्तरा मात्र गएका थिए । 

जम्मा दुई अन्तरा मात्रैले पनि यस्तो जादू चलायो कि दर्शकले पूरै गीत सुजनको आवाजमा सुन्न पटक–पटक माग गरिरहे । एक महिनाअघि निस्केको उनको स्विटरको पूरा कभर गीत अहिले पनि त्यत्तिकै बजारमा हाइप बटुल्न सफल भइरहेको छ । फेसबुकको स्टोरी, रिल्स र टिकटक समेतमा उनको मिठास गुन्जिरहेको पाइन्छ । 

  • प्रकाशित मिति : चैत ५, २०८० साेमबार १८:२८:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया