सम्झनामा गिरिजाबाबु : साहसी,जब्बर र उत्तिकै विवादित नेता
१४ औँ स्मृति दिवस : गिरिजा प्रसादको ढुकुर कथा

नेपाली कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइराला घरीघरी ढुकुरको उदाहरण दिएर राजनीतिका बारेमा संक्षिप्त मन्तव्य दिने गर्थे ।

‘रुखमा ढुकुरको बथान बसेको देखेर त्यो समाउन हातमा भएको ढुकुर उडाएर त्यसको पछि लाग्नु हुँदैन, रुखको छेउमा पुगेपछि ढुकुर भुर्र उडिहाल्छ । न त्यो समाउन सकिन्छ न त हातकै ढुकुर रहन्छ’ कोइराला आफ्नो मन्तव्यमा यति उदाहरण दिन्थे र कुरा टुङ्ग्याउँथे ।

कोइरालाको यो उदाहरणलाई तात्कालिक सन्दर्भ अनुसार अर्थ लाएर विवेचना गरिन्थ्यो भने यसैलाई आ-आफ्नो सुविधा अनुसार व्याख्या गरेर राजनीतिको मसला पनि बनाउने गरिन्थ्यो । तर कोइराला स्वयंले भने यसको विस्तारमा विश्लेषण गरेनन् ।

कोइरालाको निधन भएको आज १४ वर्ष पूरा भएको छ । कोइरालाको २०६६ चैत ७ गते निधन भएको थियो ।  

स्वर्गीय कोइरालाको अगुवाइमा भएको जनआन्दोलन पछि हिंसात्मक सशस्त्र द्वन्द्व गरिरहेको माओवादी पार्टी शान्ति प्रक्रियामा आएको थियो । माओवादीलाई राजनीतिको मूलधारमा ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गरेका पूर्व प्रधानमन्त्री कोइराला त्यसपछि राजनीतिमा सक्रिय भूमिकामा आउन नपाई संसारबाट बिदा भएका थिए ।

विसं २०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्रले जन निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गरी आफू अनुकूलका प्रधानमन्त्री नियुक्त गर्न थालेपछि राजतन्त्रप्रति जनताको मोहभङ्ग हुन थालेको थियो । यसपछि भएका आन्दोलनको नेतृत्व कोइरालाले नै गरेका थिए र बिगठित प्रतिनिधि सभाको पुनस्थापना नै समस्याको एक मात्र समाधान हो भनेर उनले त्यसमै अडान लिइरहे । 



विसं २०६१ माघ १९ गते दलमाथि प्रतिबन्ध लगाउँदै राजा ज्ञानेन्द्र आफैँ मन्त्रिपरिषद्को अध्यक्ष बनेपछि कोइरालाले सबै दललाई एकीकृत गर्दै आफ्नै नेतृत्वमा पूर्ण लोकतन्त्रको स्थापनाका लागि आन्दोलनको नेतृत्व गरेका थिए ।

पछि जनआन्दोलनको दबाबमा राजाले निरङ्कुश सत्ता छाड्दा प्रतिनिधि सभाको पुनस्थापनाको घोषणा गरेका थिए र पुनस्थापित प्रतिनिधि सभामा माओवादी समेत प्रवेश गरेको थियो । 
आन्दोलन सफल भएपछि कोइराला चौथो पटक प्रधानमन्त्री बनेका थिए । पुनःस्थापित प्रतिनिधिसभाले २०६३ जेठ ४ गते राजाका सबै अधिकार कटौती गर्दै आलङ्कारिक राजाका रूपमा सीमित गरिदिएको थियो ।



कोइरालाकै नेतृत्वमा माओवादी जनसेनाको समायोजनसहित हतियार व्यवस्थापन भएको थियो । उनकै नेतृत्वमा छ दशकभन्दा लामो संविधानसभा निर्वाचन गर्ने कांग्रेसका संस्थापक एवं उनका दाजु बिपी कोइरालाको सपना २०६४ चैत २८ गते पूरा भएको थियो । 

पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि नेपालको इतिहासमा यो ऐतिहासिक घटना बनेको छ । पहिलो संविधानसभा निर्वाचनसँगै सशस्त्र द्वन्द्वरत माओवादी संसदीय बहुदलीय राजनीतिक प्रतिस्पर्धामा सहभागी भएको थियो ।   

चार पटक प्रधानमन्त्री बनेका कोइरालाले अन्तिम कार्यकालमा भने कार्यवाहक राष्ट्राध्यक्षको कार्यभारसमेत सम्हालेका थिए । राजा ज्ञानेन्द्र निलम्बनमा परेसँगै कोइरालाले कार्यवाहक राष्ट्राध्यक्षको भूमिका निर्वाह गरेका थिए । 

उनकै नेतृत्वमा २०६५ जेठ १५ गते नेपालबाट २४० वर्षको इतिहास बोकेको शाह वंशीय राजसंस्थाको अन्त्य भई नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रका रूपमा स्थापित भएको थियो । 
माओवादीलाई मूलधारको राजनीतिमा ल्याएकै कारण माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गिरिजाबाबुलाई सम्झिरहन्छन् । 

तर यो बेग्लै कुरा हो कि नेपाललाई गणतन्त्रात्मक मुलुक बनाउन सफल कोइरालालाई राष्ट्रपति बन्नबाट भने तिनै प्रचण्डले रोकेका थिए ।  

  • प्रकाशित मिति : चैत ७, २०८० बुधबार ११:३८:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया