केही साथी मीठो खान छिमेकीकोमा जान लागेका हुन्, एकताकाे प्रचारबाजी गरियो : संयोजक भट्टराई

नेपाल समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराईले आफूहरुको पार्टी नेकपा(माओवादी केन्द्र)सँग एकता गर्ने भनी भ्रमपूर्ण प्रचारबाजी गरिएको बताएका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै संयोजक भट्टराईले नेपाल समाजवादी पार्टी नेकपा(माओवादी केन्द्र)सँग एकता गर्न लागेको भनी जालसाझिपूर्ण र भ्रमपूर्ण प्रचारबाजी गरिएको बताएका हुन् । पार्टीका केही व्यक्तिहरु माओवादी केन्द्रमा प्रवेश गर्न लागेकाे उनले बताए । 

प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा पार्टीका केही मान्छेहरु माओवादी केन्द्रमा प्रवेश गरेर पार्टी एकता भयो भन्नुले आफूहरु आश्चर्यचकित भएको उनले बताए । आफ्नो पक्षमा केन्द्रीय समितिको ७० प्रतिशत र केन्द्रीय कार्यकारिणी समितिको दुई तिहाई संख्या रहेको र निर्वाचन आयोगमा पनि आफैँ अध्यक्ष भएको अभिलेख रहेको उनले दाबी गरे । 

संयोजक भट्टराईले शान्ति प्रक्रियालाई टुग्याउने र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नका लागि आफूहरु पुरानो पार्टीसँग सहकार्य गर्न तयार रहे पनि उनीहरुसँग मिस्सिने कुनै मनशाय नरहेको बताए । नेपाल समाजवादी पार्टी आफ्नो सिंगो अभियानलाई छोडेर माओवादी केन्द्रसँग एकता नगर्ने उनले स्पष्ट पारे । 

‘केही समययता हाम्रा केही साथीहरु, पार्टीभित्र आन्दोलनका क्रममा थकाइ लाग्छ, गलिन्छ । त्यसले गर्दाखेरि, यात्रामा हिँड्नुभन्दा चौतारीमा बास नै बसौँ । छिमेकीको एउटा घरमा गएर मिठो खाना खाउँजस्तो यात्रीलाई अनुभूत हुन्छ,'उनले भने, 'त्यस्तै साथीहरुलाई पनि अलिअलि भएर उहाँहरुले गर्न खोज्नुभयो । त्यसलाई हामीले अन्यथा मान्ने कुरा हुँदैनथियो । त्यो निरन्तर चल्छ ।राजनीतिक परिवर्तनको यात्रामा ।'

तर देशको प्रधानमन्त्रीकै उपस्थितिमा केही मान्छेहरुले उनको पार्टीमा प्रवेश गरेको कुरालाई पार्टी नै मर्ज भएको भन्ने ढंगको वक्तव्य आउनु भने विडम्बनापूर्ण भएकाे उनले बताए । उनले भने,'त्यसबाट हामी आश्चर्यचकित भयौँ । म पार्टीको अध्यक्ष छु । निर्वाचन आयोगका सबै अभिलेखले त्यो देखाउँछ । फेरी वार्ता समितिको संयोजक म आफैँ हुँ ।'



उनले थपे, 'फेरि हाम्रो पार्टीको केन्द्रीय समितिको अस्ति ५ गते बैठक बस्यौँ, ७० प्रतिशत केन्द्रीय समिति र दुईतिहाइ कार्यकारिणी समिति उपस्थित भएर हामीले निर्णय पनि गरेका छौँ । यस्तो अवस्थामा त्यस्तो प्रकारको जालसाझीपूर्ण, भ्रमपूर्ण प्रचारबाजी गरियो ।'

राजनीतिक यात्राको क्रममा बांगाटिंगा यात्राहरु हुने भन्दै उनले यसलाई अन्यथा मान्न नहुने बताए । 'मैले पुरानै ठाउँमा फर्किएर यात्रा गर्नुपर्छ भन्नुको अर्थ के थियो भने बीचमा यस्ता गतिविधिका कारणले गर्दा हामी पनि पुराना शक्तिभन्दा के फरक भयौँ भन्ने जनतामा पर्न पनि गयो,उनले भने, 'हिजो हामी जनयुद्धकै पृष्ठभूमिमा आएको हुनाले त्यसका कतिपय कार्यभार बाँकी छन् । शान्ति प्रक्रिया लगायतका कुरा । संघीय लोकतान्त्रिक गणतन्त्र छ । यसमाथि भइरहेका जुन प्रहारहरु छन् । यसलाई रक्षा गर्ने कुराहरुमा हामीले पुराना शक्तिहरुसँग पनि सहकार्य गर्नुपर्छ । तर अब उहाँहरुबाट मात्रै त्यसको रक्षा हुँदैन । अगाडि बढेर मात्रै रक्षा हुन्छ भनेर हिँडिसकेको हुनाले हाम्रो उहाँहरुसँग मिस्सिने कुनै मनशाय पनि होइन । आवश्यकता पनि होइन ।' 



खासखास मुद्दामा सहकार्य गरे पनि सिंगो अभियानलाई नै छोडेर पुरानो पार्टीतिर फर्किने भन्ने कुरा नसोचेको उनले प्रस्ट्याए । 'यो विषयमा हाम्रो आम जनसमुदायमा कुनै भ्रम नरहोस्,'उनले भने, 'अब हामी प्रष्ट ढंगले वैकल्पिक शक्ति, नयाँ लोकतन्त्रमा आधारिक समाजवादको धारको पक्षपोषण गर्दै हामी अगाडी बढेका छौँ । त्यही बाटोमा हामी दृढ छौँ । हामी पछाडि फर्किने कुरा हुँदैन ।’

संयोजक भट्टराईले अहिलेको तरिकाले भ्रष्टाचारको अन्त्य नहुने बताए । कांग्रेस सरकारमा भएको बेलामा कम्युनिस्टहरुलाई भ्रष्टाचारी भन्ने र कम्युनिस्टहरु सरकारमा भएको बेलामा कांग्रेस भ्रष्टाचारी भन्ने प्रवृत्ति रहेको उनले बताए । आपसमा मिल्दाखेरी सबै साफ हुने प्रवृत्ति पनि रहेको भन्दै उनले यसरी भ्रष्टाचारको अन्त्य नहुने स्पष्ट पारे । 

सबै उच्च पदस्थको छानविन र कारबाहीसम्म गर्न सक्नेगरी शक्तिशाली जनलोकपाल गठन गरेर भ्रष्टाचारीमाथि कारबाही गर्नुपर्ने उनले बताए । ‘भ्रष्टाचारको अहिले जुन प्रकरणहरु भइरहेका छन् । यसरी अंश, अंशमा यो हल हुँदैन । कांग्रेस सरकारमा भएको बेलामा कम्युनिस्टहरुलाई भ्रष्टाचारी भन्ने । कम्युनिस्टहरु सरकारमा भएको बेलामा कांग्रेस भ्रष्टाचारी भन्ने अनि आफू चोचो मिलाएर फेरि सबै साफ हुने जुन प्रवृत्ति छ, यसरी भ्रष्टाचारको निवारण हुँदैन ।'

पुराना पार्टीहरुसँग चुनावी तालमेल गरेका कारण जनतामा भ्रम परेको भन्दै अब पार्टीलाई पुरानो पार्टीहरुको संसर्गबाट टाढा राख्ने उनले बताए । 

  • प्रकाशित मिति : चैत ७, २०८० बुधबार १७:५४:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया