सामुदायिक विद्यालयलाई शिक्षामन्त्रीको निर्देशन- विद्यार्थीबाट कुनै पनि शुल्क नलिनू
फाइल तस्बिर

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सामुदायिक विद्यालयमा कुनै पनि बहानामा शुल्न नलिन निर्देशन दिएकी छन् ।

संविधान र कानुनको व्यवस्थाबमोजिम माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापन गर्ने अधिकार स्थानीय तहलाई रहेको भन्दै उनले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै सार्वजनिक विद्यालयले माध्यमिक तहसम्म विद्यार्थी भर्ना शुल्क, मासिक पढाइ शुल्क, परीक्षा शुल्क, पाठ्यपुस्तक शुल्कजस्ता विभिन्न शीर्षक राखेर लिँदै आएको शुल्क नलिएको सुनिश्चित गर्न निर्देशन दिएकी हुन् । 

मन्त्रीस्तरीय निर्णयका आधारमा मन्त्रालयले बुधबार नै ७५३ वटै स्थानीय तहलाई १० बुँदे सर्कुलर जारी गरेको छ । स्थानीय सरकार सञ्चार ऐन, ०७४ को दफा ११ को उपदफा (२) मा गाउँपालिका तथा नगरपालिकाको काम, कर्तव्य र अधिकारअन्तर्गत निःशुल्क शिक्षा, विद्यार्थी प्रोत्साहन तथा छात्रवृत्तिको व्यवस्थापन स्थानीय तहबाट मापदण्ड, निर्देशिका, कार्यविधिबाट गर्नुपर्ने उल्लेख छ । 

सोअनुसार सार्वजनिक विद्यालयमा निःशुल्क शिक्षा र निजी लगानीका विद्यालयमा शुल्क निर्धारण एवं छात्रवृत्ति वितरण सम्बन्धी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न मन्त्री श्रेष्ठले सर्कुलर गरेकी छन् । मन्त्री श्रेष्ठले नयाँ शैक्षिक सत्र सुरुवात हुन तीन साता मात्रै बाँकी हुँदा विद्यालय शिक्षालाई व्यवस्थित गर्न स्थानीय तहलाई सर्कुलर गरेकी हुन् । 

संविधान र कानुनले माध्यमिक तह अर्थात् कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुने व्यवस्था गरेको छ । तर सरकारी सामुदायिक विद्यालयले भर्ना, मासिक र परीक्षा तथा अन्य बहानामा विद्यार्थीबाट चर्को शुल्कसमेत असुलिरहेका छन् । 

मन्त्रालयले गरेको परिपत्रअनुसार निजी विद्यालयले समेत स्थानीय तहबाट तोकिएको शुल्कमात्र लिन पाउनेछन् । त्यस्तै, निजी तथा गुठीअन्तर्गत सञ्चालित विद्यालयमा भर्ना हुने विद्यार्थीलाई कम्तीमा १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने व्यवस्थासमेत कार्यान्वयन गराउन मन्त्रलायले भनेको छ । 



ऐनमा यस्ता विद्यालयमा प्रारम्भिक बाल विकासदेखि कक्षा १२ सम्म भर्ना हुने विद्यार्थीमध्ये कम्तीमा १० प्रतिशतलाई निःशुल्क शिक्षा प्रदान गर्नुपर्ने उल्लेख छ । निजी विद्यालयले ऐनअनुसार भर्ना, मासिक, वार्षिक, परीक्षा, कम्प्युटर, स्थानान्तरण प्रमाणपत्र, विशेष प्रशिक्षण, परिवहन र भोजनबाहेकका शुल्कसमेत लिन नपाउने गरी मन्त्रालयले व्यवस्था गरेको छ ।  



  • प्रकाशित मिति : चैत ८, २०८० बिहीबार ९:३५:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया