५६ लाख ४३ हजार बालबालिकाले लगाए दादुरा-रुवेलाविरुद्धको खोप
फाइल तस्बिर

सरकारले सञ्चालन गरेको दादुरा–रुवेलाविरुद्धको खोप अभियानमा ५६ लाख ४३ हजार ९ सय १२ जना बालबालिकाले खोप लगाएका छन् । दादुरा–रुवेला सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी सरकारले गत फागुन १३ देखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गरेको थियो । 

बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार ५७ लाख ४२ हजार ९ सय ९३ बालबालिका खोप लगाउने लक्ष्य रहेकामा ५६ लाख ४३ हजार ९ सय १२ जनाले बालबालिका खोप लगाएका हुन् । ‘हाम्रो लक्ष्यअनुसार नै बालबालिकाले खोप लगाएका छन्,’ उनले भने, ‘जिल्लाबाट प्राप्त प्रारम्भिक चरणको प्रतिवेदनमा ९६ प्रतिशतले खोप लगाएका पाइएको छ ।’   

सरकारले यस वर्ष दादुरा रुवेलाको सङ्क्रमणलाई ध्यान दिँदै पश्चिम रुकुम र जाजरकोट जिल्लाबाहेक ७५ जिल्लामा खोप अभियान सञ्चालन गरेको  थियो । पश्चिम रुकुम र जाजरकोटमा यसअघि नै अभियान सञ्चालन भएको थियो ।  

भारतसँग सीमा जोडिएका २१ जिल्ला तथा काठमाडौं उपत्यकाका तीन जिल्लामा ९ महिनादेखि १५ वर्ष मुनिका र ५१ जिल्लामा ९ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई खोप लगाइएको थियो । 

खोप अभियान सफल बनाउन देशभर ४८ हजार ७ सय ९८ खोप केन्द्रमा ४९ हजार ९ सय ३७ जना स्वास्थ्यकर्मी र ५९ हजार ९ सय ६ जना स्वयंसेवक परिचालन गरिएको थियो । रासस 





  • प्रकाशित मिति : चैत ८, २०८० बिहीबार १०:३३:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया