विनोद चौधरी भन्छन्- स्टन्टबाजी गर्नेहरूलाई मेरो चरित्रको सर्टिफिकेट बुझाउन पर्दैन
‘सरकारले उद्यमी र लगानीकर्तामाथि राजनीति गर्‍यो’

नेपाली कांग्रेसका सांसद विनोद चौधरीले सरकारले उद्यमी र लगानीकर्तामाथि राजनीतिकरण गरेको बताएका छन् । बिहीबार सरकारी वकिल कार्यालयमा उपस्थित भई बयान दिइसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारले उद्यम र उद्यमी तथा करदातामाथि राजनीतिकरण गरेको आरोप लगाए । 

उनले राज्यले आफू जत्तिको व्यक्तिमाथि समेत राजनीति गरिरहेको भन्दै नेपाल र विश्वभर रहेका नेपाली युवा, नेपालका उद्यमी, रोजगारदाता, करदाताहरूले आफ्नो मनमा कुन सन्देश लिएर लगानी गर्दछन् भन्ने कुराको हेक्का राज्यले राख्नुपर्ने बताए । चौधरीले आफूले उद्यमी भएर काम गरेको ४५ वर्ष बितिसकेको भन्दै आफ्नो चरित्रको सर्टिफिकेट स्टन्ट गर्नेहरूलाई बुझाउन आवश्यक नरहेको बताए । 

उनले राज्यले यस्ता गतिविधिबाट निजी क्षेत्र, उद्यमी, लगानी कर्तालाई विशुद्ध राख्न आवश्यक रहेको बताए । सांसद चौधरीले आफूलाई सरकारी वकिलको कार्यालयबाट मौखिक रूपमा उपस्थित हुन भनेपछि आफूले उपस्थिति जनाएको बताए । उनले आफू जिम्मेवार व्यक्ति, जिम्मेवार राजनीतिकर्मी भएको हैसियतले अनुसन्धानको लागि सहयोग गर्न उपस्थित भएको बताए ।

चौधरीले ४२ वर्षअघिको बाँसबारीको कौडीको भाउमा पनि नबिक्ने जग्गालाई आधार बनाइ पब्लिक—प्राइभेट पार्टनरसिपको एउटा उत्कृष्ट मोडलको रूपमा खडा गरिएको एउटा नवीनतम सोचलाई राजनीतिकरण गर्नु दुःखद रहेको बताए । १० रोपनी जग्गाको बारेमा कुनै पनि प्रकारको कुदृष्टि राख्छ भनेर सोच्नु नै एउटा विकृत मानसिकताको उपज रहेको जिकिरसमेत गरे।

उहाँले भन्नुभयो, ‘म माथिको अनुसन्धानको कुरा चल्ने बित्तिकै मैले रोष्टममा उभिएर देशको नीति, निर्माण गर्ने, ऐन कानुन बनाउने र सरकारै पनि बनाउने सबैभन्दा महत्त्वपूर्ण फोरममै निर्वाचित प्रतिनिधि सभाको सदस्यको हैसियतले आफ्ना कुराहरू राखेँ । मलाई यहाँ आउन मौखिक रूपमा जानकारी गराइयो, म एउटा जिम्मेवार व्यक्ति, जिम्मेवार राजनीतिकर्मी भएको हैसियतले म यहाँ सहयोग गर्न उपस्थित भएँ । ४२ वर्षअघि बाँसबारी जस्तो अनकन्टार ठाउँको कौडीको भाउमा पनि नबिक्ने जग्गालाई आधार बनाइ एउटा त्यो बेलामा पब्लिक प्राइभेट पार्टनरसिपको एउटा उत्कृष्ट मोडलको रूपमा खडा गरिएको एउटा नवीनतम सोचलाई जुन किसिमबाट राजनीतिकरण गरियो, त्यो अत्यन्त दुःखलाग्दो छ ।’ 

स्टन्टबाजी गर्नेहरूलाई आफ्नो चरित्रको सर्टिफिकेट बुझाउन नपर्ने तर्क चौधरीले गरे । उनले भने, ‘मैले अब ४५ वर्षको आफ्नो यात्रापछि मेरो आफ्नो चरित्रको सर्टिफिकेट कसैलाई बुझाउनु पर्दैन, त्यो पनि खासगरीकन स्टन्ट गर्नेहरूलाई । म फेरि पनि यस्ता प्रकारका गतिविधिबाट निजी क्षेत्रलाई, उद्यमीलाई, लगानी कर्तालाई विशुद्ध राखिनुपर्दछ, राजनीतिका आफ्ना फोरम छन्, आफ्ना तरिका छन्, म पनि नवलपरासी पश्चिमबाट विकासको फर्ममा म प्रत्यक्ष निर्वाचित सांसद हुँ, यी दुई कुरालाई कहिल्यै जोडेको छैन र भोलिका दिनमा पनि गर्नेछैन ।’



उनले आफूले दलगत राजनीतिलाई छोडेर विकासको राजनीति गरेको बताए । सांसद चौधरीमाथि बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा निजीकरण गरेको आरोप लागेको छ ।  



  • प्रकाशित मिति : चैत ८, २०८० बिहीबार ११:२२:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया