पर्यटकको आकर्षण बन्दै शालग्राम सङ्ग्रहालय, दुई महिनामा १२ हजारले अवलोकन

शिरमा पञ्चकोट, नजिकै पवित्र कालीगण्डकी र बागलुङ कालिका मन्दिर, बागलुङ बजार केही पर शालग्राम सङ्ग्रहालय छ । धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको शालग्राम सङ्ग्रहालय पछिल्लो समय नेपालीसँगै भारतीय पर्यटकको आकर्षणको केन्द्र बनेको छ । 

बागलुङ नगरपालिका–४ कुँडुले फेदीमा सुरुङ निर्माण गरेर सवा लाख शालग्राम सङ्ग्रहित गरिएको छ । त्यसले धार्मिक पर्यटकलाई आकर्षित गरिरहेको छ । शालग्रामलाई हिन्दू धर्मावलम्बीले भगवान्का रुपमा पुज्ने गर्दछन् । सवा लाख शालग्रामसँगै रङ्गवेङ्कटेश्वर मुक्तिनारायण मन्दिरमा हिजोआज भक्तजनको भीड लाग्ने गर्छ । बागलुङ–म्याग्दी–मुस्ताङ सडक छेउमै रहेको शालग्राम सङ्ग्रहालयमा मुस्ताङको मुक्तिनाथ पुग्ने तीर्थालु पुग्न थालेका छन् ।

नजिकै रहेको पञ्चकोट र बागलुङ कालिकाले सङ्ग्रहालयलाई जोडेको छ । पञ्चकोट आउने अधिकांश पर्यटक सङ्ग्रहालयमा पुग्ने गर्छन् । सङ्ग्रहालयमा शालग्राम मात्रै राखिएको छैन । सुरुङभित्र कालीगण्डकीको शिर दामोदरकुण्डदेखि त्रिवेणीधामसम्मको आकृति एकै ठाउँमा बनाइएको छ । 

त्यसले धेरैलाई आकर्षित गरिरहेको छ । शालग्राम सङ्ग्रहालय वरपर बनेका मन्दिर र त्यहाँ बनेका अनेक प्रकारका आकृतिले धेरैलाई लोभ्याउने गरेको छ । बागलुङ बजारदेखि करिब तीन किलोमिटर पश्चिममा रहेको सङ्ग्रहालय गाडीमा पाँच मिनेट र पैदल यात्रामा १५ मिनेट लाग्छ । यहाँ पछिल्लो समय घुम्ने संस्कृतिको विकास भएसँगै पर्यटकको चहलपहल निकै बढेको छ ।

पछिल्लो दुई महिनामा करिब १२ हजार भारतीय तथा नेपाली पर्यटकले शालग्राम सङ्ग्रहालयको अवलोकन गरेको शालग्राम सङ्ग्रहालयका संरक्षक ऋषि प्रपन्नाचार्यले बताए । गत फागुन ९ देखि २३ गतेसम्म पञ्चकोटमा अनन्त श्री ब्रह्माण्डीय महायज्ञ लागेको र यस अवसरमा धेरै झक्तजनले सङ्ग्रहालयको अवलोकन गरेको उनले जानकारी दिए ।  

ऋषि प्रपन्नाचार्यका अनुसार यहाँ मन्दिर, सङ्ग्रहालयलगायत संरचना निर्माण गर्न १० करोडभन्दा बढी लगानी भएको छ । चाडपर्व र बिदाको समयमा धेरै पर्यटक आउने गरेको उनले बताए । पहिले मुक्तिनाथ जाने भारतीय पर्यटक निकै कम आउने गरेको सुनाउँदै अहिले दैनिक आउने गरेको ऋषि प्रपन्नाचार्य बताउँछन् । रासस 





  • प्रकाशित मिति : चैत ९, २०८० शुक्रबार १४:३०:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया