सबैको साझेदारी भए मात्रै  संघीय लोकतान्त्रिक गणतन्त्र सार्थक हुन्छ : उपप्रधानमन्त्री यादव
फाइल तस्बिर

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सबैको साझेदारीमा मात्रै संघीय लोकतान्त्रिक गणतन्त्रले सार्थकता पाउने बताएका छन् । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका उनले सामाजिक न्याय र समानताको अभावमा संघीयता र गणतन्त्र कुनै निश्चित वर्गको खेलौनाको रूपमा मात्रै रहने जिकिर समेत गरे ।

सोमबार काठमाडौंमा आयोजित साधना राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै उपप्रधानमन्त्री यादवले पहिचानसहितको समानता, सामाजिक न्याय र सबैको भागेदारी र साझेदारीले नै संघीय लोकतान्त्रिक गणतन्त्रको सार्थकता र महत्त्व बढाउने स्पष्ट पारे । उनले मुलुकलाई एकताबद्ध बनाएर अघि बढाउन पनि समानता र सामाजिक न्याय हुनुपर्ने भएकाले सो सम्बन्धी बहसलाई अघि बढाउन पनि जरुरी रहेको बताए । 

उपप्रधानमन्त्री यादवले भने, ‘समानता र सामाजिक न्याय भएन भने लोकतन्त्रको कुनै अर्थ रहँदैन । हामीले संघर्ष गरेर संघीय लोकतान्त्रिक गणतन्त्र त बनायौं । तर समानता, सुशासन र सामाजिक न्याय खास गरी सामाजिक न्याय र समानताको अभावमा लोकतन्त्र र गणतन्त्र एउटा निश्चित समुदाय, एउटा निश्चित वर्ग, निश्चित विशेष समुदायको खेलौना भएर मात्रै रहन्छन् । त्यसले गर्दा खेरी पहिचान, समानता, सामाजिक न्याय र सबैको भागेदारी र साझेदारीले नै संघीय लोकतान्त्रिक गणतन्त्रलाई सार्थक र महत्त्व बढाउँछ । र, नेपालको विविधतालाई एकतामा बाँधेर सहमतिको बाटोमा अघि बढाउँछ । तर त्यो दिशातर्फ सहजै रूपमा त जाँदैन । तर त्यसका लागि बहस हुन जरुरी छ । यसमा पत्रकारहरूको भूमिका बढी छ । हुन त आजको युगमा यसो हेर्छु–सोसल मिडिया २/३ जना बसेर हेर्न पनि कठिन हुने जस्तो युगमा यहाँहरूको कलमले एउटा चेतना, सामाजिक दायित्व र राष्ट्रप्रतिको जिम्मेवारीलाई अगाडि बढाउन सकियोस् ।’

उपप्रधानमन्त्री यादवले राष्ट्रप्रतिको जिम्मेवारी बोध गरेर कलम चलाउन पनि सञ्चारकर्मीहरूलाई आग्रह गरे । सामाजिक सञ्जालले अराजकता निम्त्याएको उल्लेख गर्दै उनले सामाजिक दायित्व र राष्ट्रिय जिम्मेवारीलाई आत्मसात गरेर सन्चाकर्मीहरूले अघि बढ्नुपर्ने तर्क समेत गरे ।   





  • प्रकाशित मिति : चैत १२, २०८० साेमबार १८:४:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया