नाउपाले हाललाई केन्द्रमा माओवादी र प्रदेशमा कांग्रेसलाई समर्थन यथावत् राख्ने

नागरिक उन्मुक्ति पार्टीका संस्थापक सदस्यको बैठकले संघीय सरकार र प्रदेश सरकारका सवालमा पार्टीले निर्वाह गरिरहेको भूमिकालाई अहिले यथावत् राख्ने निर्णय गरेको छ । 

कैलालीको टीकापुरमा आज बसेको पार्टीका संस्थापकको बैठकले अहिले संघ र प्रदेशमा जे–जस्तो छ, त्यही अवस्थामा रहने निर्णय गरिएको बैठकपछि पार्टीका प्रवक्ता दामोदर पण्डितले जानकारी दिए । पण्डितले भने, ‘अहिलेलाई जहाँजस्तो छ, त्यही अवस्थामा रहने निर्णय गरिएको छ, सत्ता सहकार्यका सवालमा पार्टीको ‘पोजिसन’ स्पष्ट भएमा पछि संघ र प्रदेशमा एकै धारणा बनाएर जान्छौँ ।’ 
 
नागरिक उन्मुक्ति पार्टीले केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको थियो । सुदूरपश्चिम प्रदेशमा भने नेपाली कांग्रेस नेतृत्वको हालको सरकारलाई समर्थन गर्ने निर्णय सो पार्टीको संसदीय दलको बैठकले हालै गरेको थियो । 
  
पार्टीका अध्यक्ष एवं सांसद रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षतामा पार्टीका संस्थापक सदस्यको आज टीकापुरमा बैठक बसेको प्रवक्ता पण्डितले बताए । प्रदेशका भूमि व्यवस्था तथा सहकारीमन्त्री एवं नागरिक उन्मुक्ति पार्टीका नेता रामेश्वर चौधरीले पार्टीको टीकापुरमा बैठक बसेर गरेको भनिएको निर्णय झुठो रहेको उनले बताए । 
   
 पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले आजको बैठकका लागि सबैलाई पत्राचार गरेको भए पनि कोही बैठकमा नगएको जानकारी दिँदै उनले भने, ‘टीकापुरमा आज केही भएको छैन, पार्टीबाट मन्त्री भएका धनगढीमै हुनुहुन्छ ।’ 

पार्टीका संस्थापक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिताबीच सरकारलाई समर्थन गर्ने÷नगर्ने विषयमा देखिएको मतभेदले पार्टीमा समस्या उत्पन्न भएको सो पार्टीका कार्यकर्ताको भनाइ छ । 

सुदूरपश्चिम प्रदेश सरकार गठनमा निर्णायक शक्ति देखिएको नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभामा सात सदस्य छन् । सातमध्ये पाँच मन्त्री छन् । ठूलो दल नेपाली कांग्रेसका १८, नेकपा (माओवादी केन्द्र)का सभामुखसहित ११, नेकपा (एमाले)का १०, नेकपा (एकीकृत समाजवादी)का चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्य छन् । एक पद रिक्त छ ।  

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै मुख्यमन्त्री शाहले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बाट सरकारमा रहेका मन्त्रीलाई पदमुक्त गरेका थिए । लगत्तै मुख्यमन्त्रीले नागरिक उन्मुक्तिका थप चारजनालाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए ।





  • प्रकाशित मिति : चैत १४, २०८० बुधबार २१:२४:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया