किसानलाई प्रतिस्पर्धी बनाउन ‘गुरु किसान’ छनोट गर्दै रोङ गाउँपालिका

इलामको रोङ गाउँपालिका–१ बडारे टोलका किसान मनबहादुर राईले यस वर्ष १२ रोपनी क्षेत्रफलमा १५ मन अलैंची उत्पादन गरे । ‘मल, जल र सिँचाइ समयमा पुग्यो भने कम क्षेत्रफलमा पनि धेरै उत्पादन लिन सकिँदो रहेछ’, उनले भने, ‘आउँदो वर्ष यही खेतीमा अझ मिहिनेत गरेर उत्पादन वृद्धि गर्ने लक्ष्य छ ।’

यहाँकै कतिपय किसानले ३० रोपनी क्षेत्रफलमा खेती गर्दा १० मन अलैंची उत्पादन गर्न सकेका छैनन् । कम क्षेत्रफलमा बढी उत्पादन गर्ने किसानलाई ‘गुरु किसान’ का रूपमा छनोट गरी उत्पादकत्वमा प्रतिस्पर्धा गराउन गाउँपालिकाले नयाँ अवधारणा अघि सारेको छ ।

‘यो पालिकामा चार हजार पाँच सय किसान हुनुहुन्छ, सुरुमा करिब ३ सय जना ‘गुरु किसान’ पहिचान गर्ने तयारी छ’, गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बो सुवासले भने, ‘किसानको उत्पादन, परिमाण, गुणस्तर र निरन्तर उत्पादनजस्ता कुरामा एकरूपता ल्याउन गुरु किसान कार्यविधिलाई कार्यपालिकाले स्वीकृत गरेको हो ।’ 

थोरै जमिन र कम लागतमा धेरै उत्पादन गर्ने मिहिनेती र अगुवा किसानलाई ‘गुरु किसान’ का रूपमा सूचीकृत गरेर सबैलाई व्यावसायिक बनाउन यो अवधारणा अघि सारिएको अध्यक्ष स्याङ्बोले बताए । उनीहरूलाई ‘लोगो’ र परिचयपत्र वितरण गरिने गाउँपालिकाले जनाएको छ । 

‘गुरु किसान भनेका अगुवा, मिहिनेती किसान हुन् । उहाँहरूबाट अरूले सिक्ने हो, त्यसैले उहाँहरूलाई गुरु किसान भनिएको हो’, उनले  स्पष्ट पारे । गाउँपालिकाले गुरु किसानमार्फत उत्पादकत्वमा प्रतिस्पर्धा गराउन खोजेको छ ।

‘सबैभन्दा कम क्षेत्रफलमा सबैभन्दा धेरै फैलाउनेलाई प्रोत्साहन गर्ने भनेर कार्यविधिमा उल्लेख गरेका छौँ । उत्पादकत्वमा वृद्धि, उत्पादित कृषि वस्तुको परिमाण, गुणस्तर र निरन्तरता बजारीकरणका लागि प्रमुख कुरा हुन् । यी कुरामा किसानबाट नै सुधार ल्याउन सकिन्छ’, अध्यक्ष स्याङ्बोले भने । रासस 





  • प्रकाशित मिति : चैत १५, २०८० बिहीबार ८:४८:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया