अन्न उत्पादन घटेपछि म्याग्दीका किसान फलफूलखेतीमा

अन्नबाली लगाउँदा लगानीअनुसार प्रतिफल प्राप्त नभएपछि म्याग्दीका किसानले व्यावसायिक फलफूलखेती सुरु गरेका छन् । साथै उनीहरूले सागसब्जी पनि उमार्न थालेका छन् । 

बेनी नगरपालिका–२ का किसान क्षेत्रबहादुर कटुवालले परम्परागतरूपमा गर्दै आएको स्थानीय जातको धान र गहुँखेतीबाट अपेक्षित उत्पादन नभएपछि सागसब्जी र फलफूलखेती सुरु गरेका छन् । 

यस्तै, सोही वडाका खिमबहादुर कार्की र दुर्गाबहादुर थापाले धान फल्ने खेतमा केराखेती गरेर परम्परागत खेतीबाट हुने आयभन्दा तीन गुणा बढी आम्दानी लिन सफल भएका छन् । रोहोटेका हरिलाल घिमिरेले अन्नबालीको विकल्पमा मौसमी तथा बेमौसमी सागसब्जी फलाएर मनग्गे आम्दानी गरेको बताए । 

उनका अनुसार खेतबारीमा गौरिया, गुडुरा, आँगा, जौ धानलगायत रैथाने धानको उत्पादन कम भएपछि अन्नबालीको साटो फलफूलखेती थालिएको हो ।

‘आजकल रैथाने बाली लगाउन मन लाग्दैन । खाना स्वादिष्ठ र पोषणयुक्त भए पनि लागतअनुसार उत्पादन नहुँदा गुजारा चलाउन धौधौ भएपछि वैकल्पिक खेती सुरु गरेको हुँ । मुश्किलले १२ हजार रुपैयाँको अन्न उत्पादन हुने खेतबारीमा सागसब्जी र फलफूलखेती गरेपछि अहिले वार्षिक ३ लाखदेखि ५ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ,’ घिमिरेले भने ।  

जिल्लाका किसानले अन्नबाली लगाउन छाडेपछि केही अन्नको बिउ पाउन कठिन भएको छ । मङ्गला गाउँपालिका–५ का किसान मनप्रसाद सापकोटाले गाउँमा गौरिया र गुडुरा धानको नपाइएको बताए ।



गौरिया धानमा लगातार तीन वर्षसम्म रोग लागेर उत्पादन कम भएपछि खेती गर्न छाडिएको हो । ‘रोग र कीराको प्रकोपले सोचेअनुसार उत्पादन नहुँदा हामीले यसको खेती घटाउँदै गएका छौँ’, उनले भने, ‘बर्सेनि नयाँ रोगले बाली नष्ट हुन्छ, पहिलाको जस्तो उत्पादन हुँदैन ।’ 

हिमाली क्षेत्रमा फल्ने चिनो, कागुनो, उवा, फापर, आँगा, गौरिया, गुडुरा, ताकमारे, जौ, धान, कोदो, सिमी, जुनेलो, सिलाम र जौलगायत रैथाने बाली सङ्कटमा पर्न थालेका कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । रासस 



  • प्रकाशित मिति : चैत १५, २०८० बिहीबार १०:१५:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया