टी–२० विश्वकपमा इतिहास रच्न आतुर छौँ : प्रशिक्षक देसाई
फाइल तस्बिर

नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईले विश्वकप यात्रा गर्नु सबैभन्दा खुसीको क्षण रहेको उल्लेख गर्दै सबै खेलाडी नयाँ इतिहास रच्न आतुर रहेको बताएका छन् ।

आइसिसी टी–२० विश्वकपको तयारीस्वरूप भारतको राज्यस्तरका टोलीसँग टी–२० प्रतियोगिता खेल्ने जाने नेपाली क्रिकेट टोलीको बिदाइ कार्यक्रममा प्रशिक्षक देसाईले यस्तो बताएका हुन् ।

नेपालले विश्वकप अगाडि ओमानमा एसिसी प्रिमियर लिग तथा भारतको बरोडा र गुजराजतको टोलीसँग एसएमएस फ्रेण्डसिप कप खेल्दैछ । सोही प्रतियोगिता अगाडिको बिदाइ कार्यक्रममा देसाईले एसिसी प्रिमियर कप अगाडि भारतमा हुने प्रतियोगिता नेपालका लागि फलदायी हुने विश्वास व्यक्त गरे ।

फाइल तस्बिर

यो प्रतियोगिताका लागि क्यानले पनि धेरै मिहिनेत गरेको प्रशिक्षक देसाईको भनाइ छ । डिफेन्डिङ च्याम्पियनका रूपमा एसिसी प्रिमियर लिगको यस संस्करणमा सहभागी हुने भएकाले नेपाल उत्साहित रहेको पनि उनले बताए । प्रशिक्षक देसाईले पछिल्लो वर्ष नेपाली क्रिकेटका लागि राम्रो रहेको र आगामी वर्ष पनि राम्रो रहने विश्वास व्यक्त गरे ।

कप्तान रोहितकुमार पौडेलले सरकारले घोषणा गरेको पुरस्कार रकममध्ये ५०/६० प्रतिशत मात्र पाएको उल्लेख गर्दै ट्वान्टी–२० विश्वकप अगाडि नै ती पुरस्कार पाउनेमा आफू विश्वस्त रहेको बताए । एसिसी प्रिमियर कप महत्वपूर्ण रहेको बताउँदै रोहितले राम्रो नतिजासहित देश फर्कने विश्वास व्यक्त गरे ।  



युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले पाउनुपर्ने कुरा समयमा नपाउँदा मन नै मर्नसक्ने उल्लेख गर्दै उत्कृष्ट मनोबलका साथ खेल्न शुभकामना दिए । साथै उनले खेलकुदलाई नयाँ ढंगबाट अगाडि बढाउन आफू लागिपरिरहेको धारणा राखे । क्यानका सचिव पारस खड्काले ट्वान्टी–२० विश्वकप तयारीका क्रममा रहेकाले गुजरातमा हुने प्रतियोगिता महत्वपूर्ण हुने बताए । 



क्यानले बिहीबार खेलाडीको बिदाइ गरेको हो । बिदाइ कार्यक्रममा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, क्यान सचिव पारस खड्का, महाप्रबन्धक उत्सव ढुङ्गानालगायतको उपस्थिति थियो । फ्रेण्डसिप कप उक्त आगामी मार्च ३१ देखि अप्रिल ७ सम्म हुनेछ । 

नेपालले मार्च ३१ र अप्रिल ३ मा गुजरात तथा २ र ५ अप्रिलमा बरोडासँग खेल्नेछ । लिग चरणमा एकअर्कासँग दुई खेल खेलपछि शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन् । 

यो प्रतियोगिताअघि नेपालले घरेलु मैदानमा आयरल्याण्ड ‘ए’ विरुद्ध दुई खेलको श्रृंखला  ‘क्लिन स्विप’ गरेको थियो । ट्वान्टी २० विश्वकप जुन १ देखि अमेरिका र वेस्ट इण्डिजमा सुरु हुँदैछ । समूह ‘डी’ मा नेपालसहित दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्याण्ड्स रहेका छन् ।  

  • प्रकाशित मिति : चैत १५, २०८० बिहीबार १३:२९:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया