सुरु भयो पहिलो नेशनल हर्टिकल्चर एक्स्पो [तस्बिरहरू]


नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा पहिलो नेशनल हर्टिकल्चर एक्स्पो २०८० सुरु भएको छ । पुष्प, फलफूल, कृषि वन तथा जडीबुटी नर्सरीका व्यावसायिक उत्पादनहरूको वृहत् प्रदर्शनीको रूपमा प्रथम एक्स्पो आज चैत्र १६ गतेदेखि १९ गते सम्म भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना गरिएको हो । 

उक्त मेलाको उद्घाटन गर्दै वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडीले हर्टिकल्चरको क्षेत्र विकासको लागि जग्गा लिजमा दिनको लागि कानुनहरूको निर्माणको तयारीमा रहेको बताएका छन् । 

उनले भने, ‘यो क्षेत्रमा सबैभन्दा ठूलो समस्या भनेको जग्गाको रहेछ । खास गरेर उपत्यकाभित्र जग्गाको मूल्य नै उच्च रहेको छ । हामीले जसरी अन्य उद्योगको लागि १० वटा कानुनमा सुधार गर्दै छौँ, वन मन्त्रालय अन्तरगत, यस्तै जग्गा धेरै बाझो छ, त्यो जग्गा बाहिरका उद्योगीहरूको लागि जग्गा दिन्छौँ, त्यसैगरि यसको लागि लिजमा दिने, त्यसको लागि कानुनहरूको निर्माण गर्दै छौँ ।’

यस्तै, उनले वन विभाग अन्तरगत रहेका जग्गा हर्टिकल्चरको लागि आवश्यक हुन्छ भने मन्त्रालयमा सम्पर्क गर्न आग्रह गर्दै यो क्षेत्रको विकासको लागि काम गर्ने विश्वास पनि दिलाएका छन् । देशको माटो र वातावरण राम्रो हुँदाहुँदै पनि फूलहरूको निर्यात गर्नुपरेको भन्दै यो क्षेत्रको विकासबाट रोजगारी पनि सिर्जना गर्न सक्ने पनि उनको भनाई छ । 

उनले भने, ‘हाम्रो देशको माटो र वातावरण यस्तो छ की हामीले फूलहरूको निर्यात गर्नुपर्ने हो । तर यही फूल पनि बाहिरबाट नै आइरहेको छ । हाम्रो देशमा उत्पादनको लागि आवश्यक सबै वस्तु हुँदा पनि हामीले अधिकांश फूलहरू बाहिरबाट ल्याउनु परेको छ । युवाहरू बाहिर गइरहेका छन्, उहाँहरूलाई रोजगारी दिनको लागि नेपाल सरकार प्रयत्नशील नै थिएन । अब रोजगारी सिर्जना गर्ने हो भने हर्टिकल्चरको विकास सबैभन्दा बढी हुनुपर्छ ।’ 



मेलामा देशभरीबाट पुष्प नर्सरी, फलफूल नर्सरी, कृषि वन नर्सरी तथा जडीबुटी नर्सरीको सात सय भन्दा बढी प्रजातिका बोटबिरुवाहरू प्रदर्शनी तथा विक्री वितरणको लागि राखिने छ । साथै मल खाद, अर्ग्यानिक एवं रासायनिक विषादी, बीउ विजन, औजार उपकरण तथा प्रविधिहरूको समेत स्टल रहेको छ । 



मेलामा ७४ वटा व्यवसायीक स्टल, चारवटा फुड स्टल, सातवटा अफिसियल स्टल तथा प्रतिस्पर्धाको पाँच वटा स्टल समेत जम्मा ९० वटा स्टल रहेको छ । मेला अवलोकन गर्न सर्वसाधारणको लागि प्रवेश शुल्क प्रति व्यक्ति एकसय रुपैयाँ र विद्यार्थीहरू र ज्येष्ठ नागरिकको लागि प्रति व्यक्ति ५० रुपैयाँको व्यवस्था गरिएको छ ।

संस्थाले व्यवसायीहरूको क्षमता विकासका लागि स्वस्थ प्रतिस्पर्धा गराई व्यवसायीहरूको हौसला बढाउन शिल्ड, नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गर्ने व्यवस्था पनि गरिएको छ । प्रतिस्पर्धाको मूल्यांकन कृषि वागवानी विज्ञ, वनस्पति विज्ञ, साथै माटो तथा पर्यावरण विज्ञ सहितको संलग्नतामा तीन सदस्यीय मुल्याकंन समिति समेत गठन गरेको छ । 

एक्स्पोको अवसरमा लामो समयदेखि निरन्तर नर्सरी व्यवसायको विकासमा टेवा पुर्‍याउने पुराना व्यवसायीहरू मध्यबाट एक जनालाई ‘दीर्घकालीन क्रियाशील नर्सरी व्यवसायी सम्मान’ द्वारा सम्मान गरिनुको साथै नर्सरीसँग सम्बन्धित वस्तु स्वदेशमै उत्पादन गरी आत्मनिर्भर बनाउन व्यवसायीहरूलाई उत्प्रेरणा जगाउने उद्देश्यको लागि नर्सरी व्यवसायी मध्यबाट एक जनालाई ‘वर्षको विशेष उत्पादनमुखी व्यवसायी सम्मान’ द्वारा सम्मान गरिने छ । 

नर्सरी व्यवसायी संघ, नेपालको आयोजनामा हुन गइरहेको प्रथम नेशनल हर्टिकल्चर एक्स्पी–२०८० को प्रवर्धक संस्थाहरू पुष्प विकास केन्द्र, वनस्पति विभाग, प्लान्ट क्वारेनटाइन एवं विषादी व्यवसाय केन्द्र, कृषि तथा पशुपक्षी विकास मन्त्रालय रहेको छ भने विशेष सहयोगी संस्था नेपाल टेलिकम, एजीए एग्रो, कुमारी फ्लोरा फार्म, सुजना एग्रीकल्वर प्रालि रहेको छ ।

 

 

  • प्रकाशित मिति : चैत १६, २०८० शुक्रबार १३:१०:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया