स्विस उद्यमीलाई सरकारको आह्वान : नेपालमा लगानी गर्नुहोस्

नेपाल सरकारले स्विट्जरल्यान्डका उद्यमी–व्यवसायीलाई नेपालमा लगानीका निम्ति अभिप्रेरित गर्न स्विस सरकारसँग अनुरोध गरेको छ । आगामी महिना काठमाडौंमा आयोजना हुने लगानी सम्मेलनमा उनीहरूको सक्रिय सहभागिताका निम्ति प्रोत्साहन गर्न स्विस सरकारलाई सरकारले अनुरोध गरेको हो ।

नेपाल–स्विट्जरल्यान्ड परामर्श संयन्त्रको मङ्गलबार बेर्नमा सम्पन्न बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकालले उक्त आह्वान गरेको जेनेभास्थित नेपालको राजदूतावासले जनाएको छ ।

बैठकमा नेपाल–स्वीटजरल्याण्ड सम्बन्धका समग्र पक्षका साथै आर्थिक, विकास साझेदारी, बहुपक्षीय मञ्चमा सहयोग आदानप्रदान, मानवअधिकार तथा जलवायु परिवर्तनलगायत विश्वले सामना गर्नुपरेका सामयिक विषयमा पनि विचारविमर्श भएको थियो । 

दुवै देशबीच उच्चस्तरीय भ्रमण आदानप्रदान, अतिकम विकसित मुलुकको सूचीबाट स्तरोन्नतिका निम्ति नेपालले गरेका प्रयास, दिगो विकास लक्ष्य हासिलमा भएका प्रगति, नेपाल–स्वीटजरल्याण्ड व्यापार, लगानी, पर्यटन, विज्ञान तथा प्रविधि र व्यावसायिक तालिमबारे बैठकमा छलफल भएको उक्त दूतावासले जनाएको छ ।

नेपाली प्रतिनिधिमण्डलका प्रमुख सहसचिव ढकालले स्विस सरकारको प्राथमिकतामा नेपाललाई राखिएकामा आभार व्यक्त गर्नुभयो भने स्विस सरकारका प्रतिनिधि हेनरिच सेलेनवर्गले नेपालको विकास प्रयासमा स्विस सरकारले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

पारस्परिक सहायताका सम्बन्धमा छलफल गर्न सन् २०१५ मा उक्त संयन्त्र स्थापना भएको हो । संयन्त्रको अर्को बैठक दुवै पक्षलाई अनुकूल हुने समयमा काठमाडौंमा हुनेछ । रासस 





  • प्रकाशित मिति : चैत २१, २०८० बुधबार ८:६:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया