logo-img

दोस्रो वानडेमा नेपाल ‘ए’ ६० रनमै अलआउट, एक खेलअगावै गुमायो सिरिज

नेपालविरुद्धको एकदिवसीय सिरिज आयरल्याण्ड ‘ए’ले एक खेलअगावै आफ्नो पक्षमा परेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको दोस्रो एकदिवसीय खेलमा आयरल्याण्ड ‘ए’ले नेपाल ‘ए’लाई १ सय १४ रनले हराउँदै आयरल्याण्डले एक खेल अगावै सिरिज आफ्नो पक्षमा पारेको हो । 

आयरल्याण्ड ‘ए’ पहिलो खेलमा २१ रनले विजयी भएको थियो । आयरल्याण्ड ‘ए’ले जितका लागि प्रस्तुत गरेको १ सय ७५ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ १६ दशमलव ५ ओभरमा ६० रनमा समेटियो । नेपाल ‘ए’का लागि भीम सार्कीले १७ र कप्तान विनोद भण्डारीले १६ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । 

पाँच ब्याटर देव खनाल, आरिफ शेख, रिजन ढकाल, कमल ऐरी र मौसम ढकाल शून्य रनमा आउट भए । नरेन भट्टले छ, अर्जुन साउदले पाँच, बसिर अहमदले छ र सहाब आलमले एक रन बनाए । आयरल्याण्ड ‘ए’का लागि म्याथ्यु हम्फ्रिज एक्लैले ६ विकेट लिए । साथै फिओन ह्याड र थोमस माएजले दुई/दुई विकेट लिए । 

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आयरल्याण्ड ‘ए’ले ३८ दशमलव चार ओभरमा अलआउट हुँदै एक सय ७४ रन बनायो । उसका लागि गानिभ होयले अर्धशतकीय पारी खेले । उनले ५९ बल खेल्ने क्रममा दुई छक्का र पाँच चौको सहयोगमा ५० रन बनाए ।

कप्तान निल रकले ३८ बलमा तीन छक्का र तीन चौकाको सहयोगमा ४५ रन बनाए भने लियाम मकार्थीले ३५ रन बनाए । साथै पिटर मुरले १७ रन बनाउनुबाहेक अन्य ब्याटरले उल्लेख्य रन बनाउन सकेनन् । 

नेपाल ‘ए’का लागि रिजन ढकाल र सहाब आलमले तीन/तीन विकेट लिए भने मौसम ढकालले दुई र कमल ऐरीले एक विकेट लिए । सिरिजको अन्तिम खेल आइतबार हुनेछ । 





  • प्रकाशित मिति : चैत २३, २०८० शुक्रबार १५:२३:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया