‘मनिराज वाङ्मय पुरस्कार’ त्रिपाठी र सुवेदीलाई प्रदान

साहित्यकार एवं भाषाविद् प्रा.डा. वासुदेव त्रिपाठी र संस्कृतिविद् प्रा.डा. चूडामणि बन्धुलाई ‘मनिराज वाङ्मय पुरस्कार’बाट पुरस्कृत गरिएको छ ।
   
नेपाली भाषा, साहित्य, कला र संस्कृतिको श्रीवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएबापत ०७८ को मनिराज वाङ्मय पुरस्कार त्रिपाठीलाई र ०७९को मनिराज वाङ्मय पुरस्कार बन्धुलाई प्रदान गरिएको हो । 

आज धनगढीमा नेपाली साहित्य, संस्कृति प्रतिष्ठान कैलालीद्वारा आयोजित कार्यक्रममा जनही एक लाख र सम्मानपत्रसहितको उक्त पुरस्कार प्रदान गर्दै सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले लोकको हितका पुजारी साहित्यकारले समाजलाई सही मार्गमा डोर्‍याउन महत्वपूर्ण योगदान पुर्‍याएको बताए । 

प्रतिष्ठानका अध्यक्ष पदमराज जोशी ‘प्रभात’ले नेपालको सांस्कृतिक वैभवलाई अगाडि बढाउनमा पुरस्कृत व्यक्तित्वबाट ठूलो प्रेरणा मिलेको बताए । उनका अनुसार पुरस्कार प्रदान गर्नका लागि स्रष्टाको चयन गर्न प्रतिष्ठानले गठन गरेको तीन सदस्यीय समितिले दिएको सिफारिसका आधारमा साहित्यकारद्वयलाई पुरस्कृत गरिएको हो । 
  
धनगढी निवासी महाकाव्यकार एवं सहित्यकार मनिराज जोशीको नाममा उनका परिवारका सदस्य गोविन्दराज जोशी, तारा रोस्यारा र वसन्तराज जोशीले संयुक्तरुपमा उक्त पुरस्कार स्थापना गरेका थिए । 
 
यसअघि यो पुरस्कार राष्ट्र कवि माधवप्रसाद घिमिरे, साहित्यकार दधिराज सुवेदी, लोकेन्द्रबहादुर चन्द र डा. तुलसीप्रसाद भट्टलाई प्रदान गरिसकिएको छ । ०६८ मा स्थापना गरिएको प्रतिष्ठानले नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण एवं सम्वर्द्धनका लागि विविध गतिविधि गर्दै आएको छ । 
 
सोही कार्यक्रममा साहित्यकार लक्ष्मीकान्त जोशी र नारा जोशीलाई क्रमशः जयराज पन्त र नृपबहादुर स्वाँर पुरस्कारबाट पुरस्कृत गरिएको थियो ।





  • प्रकाशित मिति : चैत २७, २०८० मंगलबार २१:५३:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया