सरकारको आन्तरिक कारणले नै अर्थतन्त्र कमजोर भयो : चन्द्र ढकाल
फाइल तस्बिर

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सरकारले दुई वर्षदेखि सुस्ताएको अर्थतन्त्रको समस्या समाधान गर्न ध्यान नदिएकै कारण अर्थतन्त्रको समस्या झन् बल्झिँदै गएको बताएका छन् । उनले अर्थतन्त्र कमजोर बन्नुमा बाह्यभन्दा आन्तरिक कारण नै प्रमुख भएको धारणा राखे ।  

बुधबार नेपाल उद्योग वाणिज्य महासंघको ५८ औँ वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवस-२०८० को उद्‍घाटनमा अध्यक्ष ढकालले करिब दुई वर्षयता सुस्ताएको अर्थतन्त्रको समस्या समाधानमा निजी क्षेत्रले दिएको सुझाव पनि सरकारले कार्यान्वयन नगरेको भन्दै गुनासो गरे । बाह्यभन्दा आन्तरिक कारणले देशको अर्थतन्त्र कमजोर बनेको टिप्पणी ढकालले गरे ।

‘करिब दुई वर्षदेखि सुस्ताएको अर्थतन्त्रको रोग पहिचान गरेर त्यसको निदान नगर्दा अर्थतन्त्रको समस्या झन बल्झिँदै गएको छ । निजी क्षेत्रले रोगको पहिचान गरेर बारम्बार औषधीको सिफारिस गरेकै हो, त्यसमा राज्यको सम्बद्ध पक्षले ध्यान नदिएकै कारण अर्थतन्त्र आजको मोडमा आएको छ,’अध्यक्ष ढकालले भने ।

ढकालले सरकारले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि नियन्त्रणमुखी व्यवस्था गर्दा तथा बाह्य कारणलाई देखाएर सुधारका लागि आन्तरिक पहल नलिएकै कारण आर्थिक वृद्धिदर घटेको दाबी गरे । 

‘नेपाल श्रीलंका बन्ने भयले यहाँ नियन्त्रणमुखी नीतिगत व्यवस्था गरियो । जसका कारण हाम्रो आर्थिक वृद्धि ६ प्रतिशतबाट झरेर २ प्रतिशतमा खुम्चियो भने यसै अवधिमा श्रीलंकाको आर्थिक वृद्धि माइनस ७.८ प्रतिशतबाट करिब २ प्रतिशत सकारात्मक भएको छ । नेपालको अर्थतन्त्र कमजोर हुनुमा बाह्यभन्दा आन्तरिक कारण नै प्रमुख हुन्,’ उनले भने । 

ढकालले विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.३ प्रतिशत हुने भनेर गरेको प्रक्षेपणलाई उल्लेख गर्दै गत वर्ष भारत र बंगलादेशको अर्थतन्त्र ६ प्रतिशत भन्दा बढीले वृद्धि भएको र त्यसको मुख्य आधार निजी क्षेत्र भएको बताए ।  



द्वन्द्वग्रस्त र निकै गरिब भनिएका राष्ट्रहरूमा पनि पछिल्लो एक दशकमा आर्थिक वृद्धिदर ६ प्रतिशतभन्दा माथि हुँदा नेपालको औसतमा वृद्धिदर ४ प्रतिशत मात्रै भएको उनले बताए । पछिल्लो दुई वर्षमा सरकारका कारण निजी क्षेत्रले काम गर्न नपाउँदा नेपालको आर्थिक वृद्धिदरमा कमी आएको ढकालको भनाइ छ ।

‘विश्व बैंकले नेपालको आर्थिक वृद्धि चालू आर्थिक वर्षमा ३.३ प्रतिशतमात्र हुने अनुमान सार्वजनिक गरेको छ । जब कि बंगलादेशको ५.६ प्रतिशत र भारतको ७.५ प्रतिशत वृद्धि हुने प्रक्षेपण छ,’ ढकालले भने, ‘छिमेकीहरूको तीव्र आर्थिक विकास भइरहँदा पछिल्लो दुई वर्षमा हाम्रो न्यून आर्थिक वृद्धि हुनुको कारण निजी क्षेत्रले काम गर्न नपाउनु नै हो ।’  



  • प्रकाशित मिति : चैत २८, २०८० बुधबार १०:२६:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया