आधारभूत स्वास्थ्य सेवा पूर्णरूपमा निःशुल्क बनाउनुपर्छ : राष्ट्रपति पौडेल
फाइल तस्बिर

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले प्रत्येक नागरिकको पहुँचमा आधारभूत स्वास्थ्य सेवा पुग्नेगरी व्यवस्था गर्नका लागि प्राथमिकता दिएको बताउँदै सो व्यवस्था कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को ३३औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको १०औँ राष्ट्रिय शिखर सम्मेलनको शुभारम्भ गर्दै उनले आधारभूत स्वास्थ्य सेवा पूर्णरूपमा निःशुल्क बनाउनुपर्ने आवश्यकता औंल्याए । 

‘संविधानले प्रत्येक नागरिकको पहुँचमा आधारभूत स्वास्थ्य सेवा पुग्नेगरी व्यवस्था गर्न, सेवालाई पूर्णतया निःशुल्क बनाउन र सबैको समान पहुँच र हिस्सेदारी कायम गर्ने व्यवस्थालाई प्राथमिकता दिएको छ’, उनले भने, ‘संविधानको यो व्यवस्थाको कार्यान्वयन गर्न सरकार गम्भीर भएर सोच्नुपर्छ ।’  

उनले आधुनिक समयमा स्वास्थ्य क्षेत्रमा रहेका विभिन्न समस्याको पहिचान गर्न तथा ती समस्याको समाधानका लागि यस क्षेत्रमा निरन्तर अध्ययन, अनुसन्धान र विकास हुन पनि जरुरी रहेको बताए । राष्ट्रपति पौडेलले बदलिँदो परिवेशअनुसार नसर्ने रोग, जलवायु परिर्वतन, सङ्क्रामक रोग इत्यादि मुद्दालाई विशेष प्राथमिकतामा राख्न सुझाव दिए । 

‘यससम्बन्धी अध्ययन अनुसन्धानलाई आगामी दिनमा अझै सक्रिय भएर अगाडि बढ्नुपर्ने आजको आवश्यकतालाई ध्यान दिनुपर्छ । म स्वास्थ्य वैज्ञानिकलाई स्वास्थ्यमा सर्वव्यापी पहुँच सुनिश्चित गर्न, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अवलम्बन गर्ने नीति तथा रणनीतिलाई सघाउन तथ्यमा आधारित प्रमाण जुटाउने कार्यमा तदारुकताका साथ लाग्न आग्रह गर्दछु’, उनले भने । 





  • प्रकाशित मिति : चैत २८, २०८० बुधबार १४:३९:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया